
सुर्खेत। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतले ‘अखिल अक्षय कोष’ स्थापना गर्ने भएको छ। विपन्न बालवालिकाको अध्ययनमा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ युनियनले अक्षय कोष स्थापना गर्न लागेको हो।
अक्षय कोष स्थापनाका लागि रकम जुटाउन अनेरास्ववियु जिल्ला कार्यसमिति सुर्खेतले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा ‘अखिल साँझ’ आयोजना गरेको छ। असो २९ गते सुर्खेत सभा हलमा अखिल साँझ आयोजना गरिएको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य प्रेम खड्काले बताए।
‘विगतका दिनहरुमा पनि हामीले सुर्खेतका विभिन्न ठाउँमा पुगेर बाढी प्रभावित तथा विपन्न समुदायका बालवालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आएका थियौं, अब कोष स्थापना गरेर सहयोग गर्न खोजेका छौं,’ खड्काले भने, ‘पढ्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण पढ्न नपाएका बालवालिकालाई कोषबाट बार्षिक रुपमा सहयोग गर्नेछौं।’
कोष स्थापना लगत्तै जिल्लाभित्र लक्षित बालवालिकाको पहिचान गर्न सुरु गरिने उनले जानकारी दिए। ‘विपन्न समुदायका बालवालिकाको अभिभावकत्व अब हामीले पनि गर्नुपर्छ, राज्यलाई मात्र दोष दिनु हुँदैन भन्ने हाम्रो सोच हो,’ उनले भने।
२९ गते हुने अखिल साँझबाट पाँच लाख रुपैयाँसम्म बचत हुने अपेक्षा अनेरास्ववियुको छ। आम्दानी रकमबाट कोष स्थापना गरिनेछ।
उक्त दिन दिउँसो २ बजेदेखि ८ बजेसम्म अखिल साँझ हुनेछ। कार्यक्रममा बद्री पंगेनी, भूमिका गिरी, राजा राजेन्द्र पोखरेल, किसान सिजापति लगायतका राष्ट्रिय कलाकार सुर्खेत आउने भएका छन्। स्थानीय कालाकारलाई पनि निमन्त्रण गरिएको खड्काले जानकारी दिए।
अहिले अखिल साँझका लागि केही सदस्यहरु टिकट बेच्न जिल्लाका गाउँहरुमा पुगेका छन्।
खड्काका अनुसार अखिल साँझमा सहभागी हुन तीन प्रकारका भिआईपी टिकट बनाईएको छ। २ हजार, १ हजार र ५ सय रुपैयाँका भिआईपी टिकट तयार गरिएको छ। यस्तै अखिल साँझमा सहभागी हुने सर्वसाधारणलाई भने १०० रुपैयाँ टिकट शुल्क लाग्ने उनले बताए।
‘हामीले समाज सेवाको उद्देश्यका साथ काम गर्न खोजेकाले कलाकारहरुलाई पनि त्यहीअनुसार कुरा गरेका छौं, उहाँहरुले अरु बेलाका कार्यक्रमहरुमा लिने आफ्नो दरभन्दा कम पैसा लिएर सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ।’ उनले भने।
कर्णाली टाइम्स
मंगलबार, असोज ११, २०७९
