शुक्रबार, बैशाख १४, २०८१

कर्णालीमा बर्षमै पाँच हजारले गरे सुरक्षित गर्भपतन

  
कर्णाली टाइम्स बुधबार, असोज १२, २०७९


सुर्खेत। कर्णाली प्रदेशमा आर्थिक बर्ष ०७७/७८ मा झण्डै ५ हजार जनाले सुरक्षित गर्भपतन गराएका छन्। स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार गत आर्थिक बर्ष कर्णालीका ४ हजार ८८८ जनाले सुरक्षित गर्भपतन गराएका छन्।
प्रदेशभरको यो तथ्याङ्कमा सुर्खेत र जुम्ला जिल्लामा धेरै गर्भपतन भएको स्वास्थ्य सेवा निर्देशनलयका अधिकृत करुणा भट्टराईले जानकारी दिईन्। ‘प्रदेशभर सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको छ, केही दुर्गम जिल्लामा यो तथ्याङ्क न्युन छ,’ उनले भनिन्, ‘प्रदेशमा अरुभन्दा सुर्खेत र जुम्लामा धेरै सुरक्षित गर्भपतन भएको छ।’
सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)ले सुर्खेतमा आयोजना गरेको सुरक्षित गर्भपतनबारे अन्तरक्रिया कार्यक्रममा भट्टराईले प्रस्तुत गरेको तथ्याङ्कअनुसार देशभर ४२ प्रतिशत मात्र सुरक्षित गर्भपतन हुने गरेको छ। ‘बाँकी तथ्याङ्कमै समावेश हुने गरेको छैन, यसको अर्थ ५८ प्रतिशत गर्भपतन असुरक्षित हो भन्ने बुझ्न सकिन्छ।’
उनका अनुसार कर्णाली प्रदेशमा ५३ वटा स्वास्थ्य संस्था गर्भपतन गराउनका लागि सूचिकृत भएका छन्। जसमध्ये २० वटा अझ पनि सञ्चालनमा छैनन्।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका संगीता खड्काका अनुसार सुर्खेतमा १९ वटा मात्र गर्भपतन गराउनका लागि सुरक्षित गर्भपतन गराउन सूचिकृत भएका स्वास्थ्य संस्था छन्। जसमध्ये ९ वटा निजी स्वास्थ्य संस्था हुन्।
उनका अनुसार आर्थिक बर्ष ०७८/७९ मा मात्र सुर्खेतमा २ हजार ६१५ जनाले सुरक्षित गर्भपतन गराएका छन्। त्यसमध्ये १ हजार ६११ जनाले औषधिमार्फत् र १ हजार ४ जनाले सर्जिकल विधिबाट सुरक्षित गर्भपतन गराएका छन्।
अघिल्ला आर्थिक बर्षको तुलनामा पछिल्लो समय गर्भपतन गराउनेको संख्यामा बृद्धि भएको छ। उनका अनुसार आर्थिक बर्ष ०७६/७७ मा २ हजार १८३ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने ०७७/७८ मा २ हजार ४७३ जनाले सुरक्षित गर्भपतन गराएका थिए।
‘हामीले असुरक्षित गर्भपतन गराएको तथ्याङ्क समावेश गरेका हुँदैनौं, त्यो कानुनी रुपमा हामीले छुट्याएर राख्न पनि मिल्दैन,’ खड्काले भनिन्, ‘सुरक्षित गर्भपतन गराउनेहरु भने पछिल्लो समय बढेको पाईन्छ।’
सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का कार्यकारी निर्देशक मधुरानी ढकालका अनुसार छोराको आशामा छोरी भए गर्भपतन गराउनेहरु अधिकांश भेटिने गरेका छन्। विद्यालय स्तरमा पनि १४ देखि १५ बर्ष उमेरका किशोरी गर्भवति भएर स्वास्थ्य संस्थामा गर्भपतन गराउन पुगेको पाईएको उनले बताईन्।
‘हामीले आफैले गरेको अध्ययनले यस्तो तथ्याङ्क देखाउँछ, कतिपय विद्यालय पढ्दै गरेका किशोरी त पुरुष साथीसँगको बार्गेनिङमा परेको देखिएको छ।’ उनले भनिन्।