आइतवार, पुस ६, २०८२

कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन

  
कर्णाली टाइम्स सोमवार, असोज २४, २०७९


सुर्खेत। कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्। आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरु सम्पर्कविहीन भएका छन्। उनीहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव दाहसंस्कार गर्न घाटमा लिएर गएका मलामीहरु सम्पर्कविहीन भएका हुन्।
शव जलाउने ठाउँमा पहिरो गएकोले मलामीहरु पनि पुरिएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार मलामी गएकाहरु पहिरोसँगै तिला नदीमा आएको बाढीमा परेको हुन सक्ने अनुमान छ।

सम्पर्कविहिन भएकामध्ये तिलागुफा–४ का वडाध्यक्ष परबहादुर शाही पनि छन्।
यस्तै सोही वडाका ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३१ वर्षका क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७९ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही सम्पर्कविहीन भएका हुन्।