आइतवार, पुस ६, २०८२

सुर्खेत कांग्रेसलाई जोड्ने ‘सेतु’ बने शाक्य

  
कर्णाली टाइम्स सोमवार, असोज २४, २०७९

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतमा जिल्लागत गुटबन्दीको सुरुवात २०४९ सालको स्थानीय निकाय निर्वाचनलाई मान्ने गरिन्छ । तत्कालीन अवस्थामा वीरेन्द्रनगरको मेयरमा कालिप्रसाद शाक्यले टिकट पाए । तर वीरेन्द्रनगर–१ का नेता प्रेमदेव गिरी बागी उठे । फलस्वरुप कांग्रेसको अवस्था मजबुत हुँदाहुँदै पनि उक्त निर्वाचनमा एमाले उम्मेदवार यामलाल कँडेल मेयरमा विजयी भए । गिरीको बागी उम्मेदवारी र शाक्यको पराजयको प्रभावले वीेरेन्द्रनगर १ बाटै वडाध्यक्ष जितेका हृदयराम थानीलाई छोयो । थानी जिविस सभापति हुनको लागि वडा अध्यक्षमा लडेका थिए । तर थानीमाथि गिरीलाई विद्रोही उठाएको आरोप लाग्यो । अन्ततः थानीले जिविस सभापतिमा टिकट पाएनन् । गोविन्दबहादुर मल्ल जिविस सभापति भए । त्यतिबेला सुरु भएको सुर्खेत कांग्रेसभित्रको गुटबन्दी यसरी झाँगियो कि, कांग्रेसीले कांग्रेसीलाई भन्दा अन्य दलका नेता–कार्यकर्तालाई प्यारो मान्ने अवस्थासम्म पुग्यो ।

सुर्खेत कांग्रेसमा गुटगत विजारोपणका एक पात्र बनेका उनै शाक्य ३ दसकपछि कांग्रेसलाई जोड्ने सेतु (पुल) बनेका छन् । यस पटकको निर्वाचनमा टिकट वितरणको लागि सबैभन्दा बढी सकस वीरेन्द्रनगर नगरपालिका रहेको सुर्खेत २ (क) मा भएको थियो । उक्त क्षेत्रमा दुबै समूहबाट ९ जनाको नाम सिफारिस भएको थियो । स्रोतका अनुसार अन्तिम ४ जनामा जिल्ला कार्य समितिका पूर्वसभापति कमलराज रेग्मी, वीरेन्द्रनगरका पूर्वमेयर तथा जिल्ला सचिव देवकुमार सुवेदी र नेताद्वय नारायण सापकोटा र कालिप्रसाद शाक्य थिए । संस्थापनइतर समूह कुनै पनि हालतमा रेग्मीलाई उम्मेदवार बनाउन चाहन्थ्यो । तर संस्थापन समूहका उम्मेदवारहरु उत्तिकै सशक्तमात्र थिएनन् कि, टिकट वितरण गर्ने ठाउँमा संस्थापन पक्षको पहुँच थियो । रेग्मीले टिकट नपाउने भएपछि संस्थापनइतर समूहको पहिलो प्रयास सुवेदीलाई रोक्नु थियो । सुवेदी १४ औं महाधिवेशन अघिसम्म थानी समूहमा थिए । पछिल्लो समय क्याम्प परिवर्तनदेखि महाधिवेशनको समयमा वीरेन्द्रनगरमा आफूहरुलाई पेलेको थानी समूहको बुझाइ थियो । संस्थापन समूहका ३ जना भने रेग्मीको संभावना कम भएसँगै कसरी आफू उम्मेदवार बन्ने भन्ने प्रयासमा थिए ।

तर पार्टी नेतृत्वले पार्टीमा गरेको योगदान, अनुभव र अवसर वितरणको लेखाजोखा गरेर शाक्यलाई उम्मेदवार बनाउने निर्णय ग¥यो । शाक्य पार्टीका पूर्वउपसभापति, विभाजनको बेला कार्यबाहक सभापति र निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भएका नेता हुन् । २०४९ मा पराजित भएपछि उनी जिल्ला समन्वय समितिको संयोजक हुने आकांक्षा बोकेर २०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्य लडे पनि सफल भएनन् ।

शाक्यले टिकट पाएपछि संस्थापनइतर (थानी) समूह पनि आंशिक रुपमा सन्तुष्ट भयो । टिकटको औपचारिक घोषणा हुनुपूर्व नै थानी समूहका नेताहरु कमलराज रेग्मी र नारायण कोइरालाले फोन गरेर शाक्यलाई बधाइ र शुभकामना दिएका थिए । शाक्य संस्थापन समूहका सिनियर नेता भए पनि उनको सालिन, भद्र र मिजासिलो स्वभावले अर्को पक्षको लागि पनि अनुकूल हुने गरेको छ । संस्थापन समूहका अन्य आकांक्षीले पनि शाक्यलाई सहजै स्वीकार्ने अवस्था बन्यो । त्यसैले सबैभन्दा चर्को रस्साकस्सी भएको सुर्खेत २ (क) मा शाक्य तीन दसकपछि कांग्रेसका दुबै समूहलाई जोड्ने सेतु (पुल) को रुपमा देखापरे ।

शाक्यको उम्मेदवारीले अर्को संयोग पनि जुराएको छ । ३ दसकअघि वीरेन्द्रनगरको मेयरमा शाक्यको प्रतिस्पर्धा एमालेका यामलाल कँडेलसँग भएको थियो । यसपटक पनि सुर्खेत २ (क) मा एमालेबाट कँडेल नै उम्मेदवार बनेका छन् । पार्टीका स्थायी कमिटी सदस्य रहेका कँडेल मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशमा चुनाव लडेका हुन् । उतिबेला शाक्यले पार्टीभित्रै बागी उम्मेदवारी खेपेका थिए । र, त्यही उम्मेदवारीको कारण कांग्रेसमा गुटबन्दी सुरु भएको थियो । यसपटक गुटबन्दीकै बीच शाक्य पार्टीभित्र र सत्ता गठबन्धनभित्र ‘सहमतिको उम्मेदवार’ बनेका छन् । यसपटक चुनावमा शाक्यसँगै इतर पक्षका नेता हृदयराम थानी सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । ३ दसकअघि शाक्य मेयर बन्न चुक्दा थानीको पनि जिविस सभापति बन्ने आकांक्षामा ठेस लागेको थियो । त्यसैले यसपटक शाक्यको उम्मेदवारीले नेपाली कांग्रेस सुर्खेतको आन्तरिक जीवनमा ठूलो अर्थ राखेको छ । जित–हारको परिणाम भने मंसिर ४ को निर्वाचनले तय गर्नेछ ।