
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच कुनै विवाद नरहने बनाएका छन्। चुनावी कार्यक्रममा सहभागी हुने सुर्खेत आएका खड्काले पत्रकार सम्मेलनमा बोल्दै चुनावमा गठबन्धनलाई जिताउने र त्यसपछिका नेतृत्वका बारेमा दलहरुबीच छलफल गरिने बताए।
‘अहिले हाम्रो सरोकारको विषय चुनाव सफल पार्नु हो, योसँगै गठबन्धनलाई चुनावमा जिताउनुपर्ने जिम्मेवारी छ,’ उपसभापति खड्काले भने, ‘पहिले हामीले बहुमत ल्याएर पछि सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा कुनै विवाद हुनेछैन।’
उनले संविधानको रक्षाका लागि भएपनि आगामी निर्वाचनमा गठबन्धनको जीत हुनुपर्ने बताए।
‘विगतमा संविधानकै व्यवस्था विपरित संविधानमाथि भएका प्रहारको प्रतिरक्षा गर्न सडकमा उत्रिएका दलहरुबीच गठबन्धन भएको छ, अब पनि संविधानको रक्षा गर्ने हो भने गठबन्धनकै जीत हुनुपर्छ,’ उनले भने।
उपसभापति खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साझा एजेण्डा हुनुपर्ने बताए। अहिले कतिपय राजनीतिक दलहरुले विमानस्थलको विषयलाई राजनीतिक मुद्दा बनाउनु गलत भएको उनले बताए।
कर्णाली टाइम्स
सोमवार, असोज ३१, २०७९
