
सुर्खेत। प्रधानमन्त्र एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जीतका लागि दलहरु मिल्नुपर्ने बताएका छन्। आइतबार वीरेन्द्रनगरमा भएको पाँच दलीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले विभिन्न निर्वाचन क्षेत्रमा गठबन्धनविरुद्ध बागी दिएका उम्मेदवारीलाई फिर्ता लिन आग्रह गरे।
कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएकोले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको उनले बताए। गठबन्धनका उम्मेदवारलाई चुनाव जिताएर सरकारमा पठाए पाँच बर्षमा नतिजा देखाउनेगरि काम गर्ने देउवाले बताए।
भेलालाई सम्बोधन गर्दे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए। विगतमा एमालेसँग सहकार्य गर्दा केपी शर्मा ओलीबाट प्राप्त गरेको ज्ञान अहिले पाँच दलीय गठबन्धन बनाउन काम लागेको उनले बताए।
‘नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएको थियो, त्यसलाई कांग्रेस–माओवादीकै अगुवाईमा परास्त गर्ने काम भएको थियो,’ उनले भने, ‘हाम्रो एकता देशको विकास, समृद्धिका लागि भएको हो।’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको अभियानमा सबै एकजुट हुन आग्रह गरे।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताए। ‘हाम्रो यो अभियान गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधान जोगाउने नै हो, त्यसैले यो वा त्यो दलका उम्मेदवार नभनेर गठबन्धनका उम्मेदवारलाई जिताउनुस्,’ उनले भने।
कर्णाली टाइम्स
आइतवार, कार्तिक ६, २०७९
