
सुर्खेत । ‘तपाइँलाई पटक–पटक जितायौं । के काम गर्नुभयो ? फेरि किन भोट दिने ?’
निर्वाचनको बेला नेपाली राजनीतिका अधिकांश वरिष्ठ नेताहरुले सामना गर्ने यो प्रश्न पूर्णबहादुर खड्काले भने व्यहोर्नु पर्दैन । चुनावी अभियानको क्रममा होस् वा अन्य कार्यक्रमको बेला होस्, आफ्नो निर्वाचन क्षेत्र जाँदा उनको हातमा एउटा घुम्रिएको लौरो हुन्छ । त्यही लौरो देखाउँदै उनी भन्ने गर्छन्– ‘म पहिलोपटक चुनाव लड्दै गर्दा यही लौरो टेक्दै, पैदल हिँड्दै भोट माग्न हिँडेको मान्छे हुँ, अहिले के कति विकास भयो, तपाइँहरु आफै जानकार हुनुहुन्छ ।’
खड्काले भाषणको क्रममा गर्ने गरेको विकास बखानको प्रतिस्पर्धी दलका नेता–कार्यकर्ता पनि खुलेर खण्डन गर्न सक्दैनन् । उनीहरुका चुनावी सभामा ‘पूर्णबहादुर खड्काले के काम ग¥यो ?’ भन्ने प्रश्न प्रायः उठ्दैन । बरु आफूलाई भोट दिनुपर्ने कारणको बेलिविस्तार लगाइन्छ ।
२०४८ देखि सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्दै आएका खड्का नेपाली कांग्रेसका उपसभापति हुन् । उक्त क्षेत्रबाट २०४८, २०५१, २०५६ र २०७० मा निर्वाचित भएका उनी पटक–पटक गृह, सञ्चार, युवा तथा खेलकुद, उद्योग तथा वाणिज्यमन्त्री भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद भएका उनी २०७४ मा भने एमाले (तत्कालीन वाम गठबन्धन) नेता ध्रुवकुमार शाहीसँग पराजित भए । यसपटक निर्वाचित भएमा नेपालको संघीय संसदमा उनले ‘डबल ह्याट्रिक’ को यात्रा पूरा गर्नेछन् ।
सुर्खेतबाट नेपाली राजनीतिको शीर्ष तहमा पुगेका खड्का यसपटक पुनः छैठौं पटक निर्वाचन लड्दैछन् । वर्तमान सत्ता गठबन्धनका शूत्रधारमध्येका एक नेता भएकोे कारण पनि खड्काको निर्वाचन क्षेत्रमा राष्ट्रिय चासो केन्द्रित छ । त्यसैले खड्कामाथि चुनाव जित्नैपर्ने दवाव छ । तर कसरी ? उनले मतदातालाई आफूतिर आकर्षित गर्न विगतमा गरेको विकासकार्यको सहारा लिने गरेका छन् ।
खड्काले यसपटक पनि विकासको मुद्दालाई प्रमुखताका साथ उठान गरेका छन् । उनको नारा छ– ‘अधुरो र अपूर्ण विकासलाई पूर्णता दिने ।’ सुर्खेत क्षेत्र नं. १ को भौतिक पूर्वाधारलाई उनी गर्वका साथ व्याख्या गर्ने गर्दछन् । उक्त क्षेत्रको सडक, पुलपुलेसा, खानेपानी, विद्यालय भवनलगायत भौतिक विकासलाई देशकै नमूना मान्ने गरिन्छ । भेरी नदीको भेडावारीदेखि रामघाटसम्मको १५ किलोमिटर दुरीमा ५ वटा पक्की पुल (तीमध्ये ३ वटा निर्माणाधीन) बनेका छन् । सडक डिभिजन कार्यालयका अनुसार नेपालका कुनै पनि ठाउँमा यति नजिकको दुरीमा पक्की पुल छैनन् । खड्काकै पहलमा २०७४ कात्तिकमा १ अर्ब १३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छिन्चु–सहारे ‘फोर लेन’ सडकको कामले ५ वर्षपछि पुनः निरन्तरता पाएको छ । उक्त सडकको कारण भेरी उपत्यका आधुनिक सहर (स्मार्ट सिटी) निर्माण कार्यलाई बल पुग्ने उनको विश्वास छ ।
रामघाटमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उनले अघि सारेको ‘गोल्डेन प्रोजेक्ट’ (स्वर्णिम विकास आयोजना) हो । यसको निर्माणले सुर्खेतमात्र नभई सिंगो कर्णालीका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र लाभान्वित हुनेछ । सुर्खेत विमानस्थल विस्तारलाई लिएर तर्कवितर्क हुने गरे पनि रामघाटमा बन्न लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालीन महत्वको हुने खड्का बताउँछन् ।
२०७० को निर्वाचनमा उनले मेहलकुनामा ५० सैयाको अस्पताल बनाउने घोषणा गरेका थिए । अहिले त्यहाँ अस्पताल सञ्चालनमा रहेको छ । त्यसैगरी छिन्चुमा निर्माण हुन लागेको सरुवा रोग अस्पतालले कर्णालीको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने खड्काको भनाइ छ ।
खड्का राष्ट्रिय स्तरमा पहुँच भएका नेता हुन् । उनी सिंहदरबारमा ‘नङ्ग्रा घुसाएर’ विकास योजना र बजेट ल्याउन सिपालु छन् । सिंहदरबारको व्यूरोक्रेसीभित्र एउटा प्रश्न सधैं घुमिरहन्छ– ‘सत्तामा नभए पनि उहाँलाई नकार्न नसकिने कारण के रहेछ हँ ?’
यतिमात्र होइन, उनको पहुँचकै कारण सुर्खेतवासीले विभिन्न क्षेत्रमा अवसर पाएका छन् । जनताको लागि विकास र पहुँचको महत्वलाई उनले आफ्नो राजनीतिको केन्द्रमा राख्ने गरेका छन् ।

यति हुँदाहुदै ‘हेभिवेट’ नेता खड्काको लागि यसपटक पनि एमालेका ध्रुवकुमार शाही प्रमुख चुनौती बनेका छन् । शाही पूर्वी सुर्खेतमा जनताबीच लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । तर उनीमाथि सांसदको पाँच वर्षे कार्यकालमा खासै देखिने गरी काम गर्न नसकेको आरोप छ । यद्यपि राष्ट्रिय उचाई बनाएका ‘हेभिवेट’ नेता र बलियो सत्ता गठबन्धनका बाबजुद उनले कांग्रेस र माओवादी केन्द्रका असन्तुष्ट मतदातालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । निवर्तमान सांसद रहेका उनको लागि ५ वर्षे कार्यकालको समिक्षा र विकासकार्यको परिणाम जनतासामु स्पष्ट पार्ने अवसर पनि आगामी मंसिर ४ को निर्वाचन बनेको छ ।

यस्तो छ जनमत
यसपटकको निर्वाचनमा एमाले भर्सेस सत्ता गठबन्धन रहेको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत अनुसार सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसको मत ३६ हजार ९ सय २८ रहेको छ । सत्ता गठबन्धनकै माओवादी केन्द्रको ५ हजार ७५ र एकीकृत समाजवादीको ६ सय ३४ मत रहेको छ । यस हिसाबले सत्ता गठबन्धनसँग ४२ हजार ६ सय ३७ मत रहेको छ भने प्रमुख प्रतिस्पर्धी एमालेका वडाध्यक्षले पाएको मत ३४ हजार ८ सय ४३ मत रहेको छ । त्यस्तै राप्रपाले ६ सय ६४ मत पाएको छ । खड्काले चुनाव जित्न गठबन्धनको मत सुरक्षित राखे पुग्नेछ भने शाहीले गठबन्धनकै मत तान्नुपर्नेछ ।
