शुक्रबार, बैशाख १४, २०८१

बुद्धको ७२ सिटे जहाजमार्फत सुर्खेतमा परीक्षण उडान, रिपोर्ट अनुकुल आए दैनिक दुई उडान गर्ने

  
कर्णाली टाइम्स बुधबार, कार्तिक ३०, २०७९


सुर्खेत। बुद्ध एअरले अब सुर्खेत विमानस्थलमा ७२ सिटे जहाजमार्फत परीक्षण उडान गरेको छ। नागरिक उड्ड्यन प्राधीकरणसँगको सहकार्यमा बुधबार एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरिएको हो। बुद्ध एअरले नियमित नेपालगञ्ज उडान गर्दै आएको एटीआर–७२ मार्फत परीक्षण उडान गरेको हो।
बुधबार गरिएको परीक्षण उडानको रिपोर्ट अनुकुल आए जनवरी सन् २०२३ देखि बुद्ध एअरले ७२ सिटे जहाजमार्फत सुर्खेत–काठमाडौं दैनिक दुई वटा उडान गर्ने भएको छ।
७२ सिट क्षमताको जहाजबाट सेवा दिँदा सुर्खेत–काठमाडौं भाडादर ७ हजार ५०० हुने बुद्ध एअरले जनाएको छ।
‘टेस्ट फ्लाईटको रिपोर्ट उडान अनुकुल रहेको अवस्थामा जनवरी २०२३ बाट एटीआर–७२ मार्फत् दैनिक दुई वटा उडान सञ्चालन गर्ने योजना रहेको छ,’ परीक्षण उडानपछि बुद्ध एअरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एटीआर ७२ बिमानमार्फत् उडान सञ्चालन गर्दा यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने महसुश गर्नेगरी न्युनतम भाडा दर रु. ७ हजार ५०० हुने जानकारी गराउन चाहन्छौं।’
बुद्ध एअरले सन् २०१३ फेब्रुअरी १ देखि सुर्खेतमा १८ सिट क्षमताको बीचक्राफ्ट १९००–डी बाट उडान सुरु गरेको थियो। विगत पाँच बर्षयता ४७ सिट क्षमताको जहाज एटीआर–४२ मार्फत हालसम्म दैनिक एउटा उडान गरिरहेको छ।