शुक्रबार, बैशाख १४, २०८१

राजनीतिक सभा–सम्मेलनमा बालवालिकाको प्रयोग नगर्ने कर्णाली प्रदेशस्थित दलहरुको प्रतिबद्धता

  
कर्णाली टाइम्स सोमवार, कार्तिक २८, २०७९


सुर्खेत। कर्णाली प्रदेशस्थित राजनीतिक दलहरुले बालबालिकालाई दलीय प्रचारप्रसारमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। वीरेन्द्रनगरमा सोमबार आयोजित ‘बालबालिका, विद्यालय र निर्वाचन’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रदेशस्थित पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनको सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको उक्त अन्तरक्रियामा चुनावमा दलहरुलाई बालबालिकाको प्रयोग गरिएको विषयमा समीक्षा गरिएको थियो।
सहभागी राजनीतिक दलका पदाधिकारीहरुले निर्वाचनका लागि हुने मतदान स्थल र केन्द्रहरु पनि बालबालिकालाई प्रभावित पार्ने गरेर विद्यालयमा गर्न नहुने र नगर्ने बताए।
राजनीतिक दलका चुनावी सभा, आमसभा, प्रदर्शन जस्ता कार्यक्रमहरु पनि विद्यालय र विद्यालयका आसपास गर्न नहुनेमा दलहरुले सहमति जनाएका छन्।
यस्तै विद्यालय हाताको २०० मिटर आसपास कुनै पनि सभा–सम्मेलन तथा राजनीतिक कार्यक्रम लक्षित माईकिङ नगर्ने कुरामा पनि दलहरुले सहमति जनाएका छन्।
छलफलका क्रममा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि विष्णु शर्माले मतदानका लागि सामुदायिक विद्यालयमा मतदान केन्द्र तोकिनुपर्ने बाद्यात्मक अवस्था भएकाले यसको विकल्प निर्वाचन आयोग र सरोकारवालाहरुले खोज्नुपर्नेमा जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्खेत जिल्ला सदस्य जनक आचार्यले बालबालिकाहरुलाई चुनावी सभामा जबर्जस्त प्रयोग गरिँदै आएकोले यसमा अबका दिनमा स्वयम दलहरुले ध्यान पु¥याउनुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुर्खेत सभापति लक्ष्मीनारायण बस्नेतले सार्वजनिक जग्गाहरु नभएका कारण चुनावको समयमा विद्यालयहरु प्रयोगमा आउने गरेको र बालबालिकाको पढाईमा समस्या हुने गरेकोले यसको विकल्प खोज्नुपर्ने बताए। त्यसका लागि अब हुने निर्वाचन तथा राजनीतिक कार्यक्रमहरु पनि विद्यालय तथा बालबालिकालाई कुनै असर नपर्ने ठाउँमा गरिनुपर्ने उनले बताए।
नेकपा (एकीकृत समाजवादी) का सुर्खेत जिल्ला सदस्य लोकप्रसाद चालिसेले बालबालिकारहित निर्वाचन गरिनुपर्ने बताए।
अन्तरक्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले बालबालिका प्रयोग नगर्नेसँग सम्बन्धित विभिन्न ६ वटा साझा प्रतिबद्धता जनाएका छन्।