सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आइतबार सुर्खेत हुन लागेको छ। २२ डिसेम्बर भित्र साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएपनि विशेष कारणवस ढिला भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
भोलि वीरेन्द्रनगरमा रहेको होटल सुभमा साधारण सभा आयोजना गरिएको छ। सभाको लागि सबै तयारी पूरा भएको अध्यक्ष चन्दले जानकारी दिए।
उनका अनुसार साधारण सभामा नियमित एजेण्डाहरुमाथि छलफल हुनेछ। बजेट, कार्यक्रम लगायतका नियमित एजेण्डामाथि छलफल हुने अध्यक्ष चन्दले बताए।
संघको यो कार्यकाल असोजमा सकिने भएपनि त्यसभन्दा अगाडि निर्वाचन गर्ने योजनामाथि साधारण सभामा छलफल हुनेछ। यस्तै संघको विधान संशोधनका विषयमा पनि छलफल गर्ने र संशोधन समिति गठन गर्ने निर्णय साधारण सभाबाट गरिने उनले जानकारी दिए।
साधारण सभामा पदाधिकारीसहित १ सय जनाभन्दा बढीको सहभागिता रहनेछ। वार्षिक साधारण सभाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नेछन्।
कर्णालीमा पहिलोपटक संघको साधारण सभा आयोजना गरिएको हो। खेलकुद र यसका पूर्वाधारबारे सन्देश दिने उद्देश्यका साथ साधारण सभा सुर्खेतमा आयोजना गरिएको अध्यक्ष चन्दले बताए। यसअघि पोखरामा बसेको क्यानको बोर्ड बैठकले सुर्खेतमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको थियो।
कर्णाली टाइम्स
शनिबार, फागुन १३, २०७९