
सुर्खेत। यही चैत ३ गते (भोलि) तोकिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित भएको छ। स्कुल अफ मेनेजमेन्ट (मुसोम) का विद्यार्थीहरुले दायर गरेको रिटमाथि बुधबार सुनुवाई गर्दै उच्च अदालत सुर्खेतले अर्को आदेश नआएसम्म निर्वाचनका गतिविधि नगर्न आदेश दिएको हो।
विश्वविद्यालय मातहतको स्कुल अफ मेनेजमेन्ट (मुसोम)का विद्यार्थीहरुले निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले उक्त रिटमाथि सुनुवाइ गर्दै निर्वाचनका कार्यक्रम स्थगित गर्न आदेश दिएको हो।
मुसोममा अध्ययरत विद्यार्थीहरूले विश्वविद्यालयका विभिन्न पाँच वटा विभागलाई विपक्षी बनाएर रिट हालेका थिए। अदालतले यही चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
अदालतको आदेशअनुसार चैत ८ गतेसम्मका लागि निर्वाचनका कार्यक्रम स्थगित गरिएको छ विश्वविद्यालयका स्ववियु निर्वाचन अधिकृत बेदप्रसाद ढकालले बताए।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा करिब ४०० जना विद्यार्थी अध्ययनरत छन्। स्वतन्त्र विद्यार्थी युनियनको अघिल्लो निर्वाचनमा मुसोममा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए।
उक्त निर्वाचन पछि मुसोम स्वायत्त भएकाले त्यहाँका विद्यार्थीलाई विश्वविद्यालयको अहिलेको स्ववियु निर्वाचनमा सहभागी नगर्ने भनिएको थियो।
कर्णाली टाइम्स
बिहीबार, चैत्र २, २०७९
