सुर्खेत। नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो १ बजेदेखि वीरेन्द्रनगरस्थित सिटी हलमा हुने प्रदेशको प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली १० बजेको नियमति उडानमा काठमाडौंबाट नेपालगञ्ज आउने कार्यतालिका छ। त्यहाँबाट सुर्खेत आएर उनले उद्घाटन सत्रको सम्बोधन गर्ने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए।
अधिवेशनमा महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश ईञ्चार्ज लेखराज भट्ट पनि अतिथिको रुपमा सहभागी हुनेछन्।
आजदेखि सुरु हुने कर्णाली प्रदेश अधिवेशनमा विभिन्न जिल्ला र दलका मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन्। २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहने प्रदेश अध्यक्ष शाहले बताए। अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुमध्ये १९५ जना महिला छन् भने समावेशी रुपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्।
पार्टी सदस्यको आधारमा छनोट गरिएका १० जिल्लाका ५५४ जना प्रतिनिधि छन्। जिल्लागत रुपमा सुर्खेतका एक सय १२, जाजरकोटका ७५, दैलेखका ७४, कालीकोटका ६५, हुम्लाका ४८, जुम्लाका ४८, डोल्पाका ३९, मुगुका ३३ र रुकुम पश्चिमका २३ जना प्रतिनिधि रहेका छन्।
आजको उद्घाटन सत्रपछि दलको नेतृत्व चयनका लागि छलफल सुरु हुनेछ। भोलि हुने बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिनेछ। अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी बन्नेछ।
कर्णाली टाइम्स
बुधबार, असोज १०, २०८०