मंगलबार, असोज १४, २०८२

भूकम्प प्रभावित र आसपासका ५ जिल्लामा टाइफाईड विरुद्धको खोप

  
कर्णाली टाइम्स मंगलबार, पुस १०, २०८०


सुर्खेत। कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जिल्लासहित कर्णाली प्रदेशका सात वटा जिल्लामा टाइफाईड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ। भूकम्पबाट प्रत्यक्ष रुपमा प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिम, ती जिल्लासँग सिमाना जोडिएका सल्यान, सुर्खेत, दैलेख, जुम्ला र कालीकोटमा टाइफाईड विरुद्धको खोप अभियान थालिएको हो।
जाजरकोट र रुकुम पश्चिममा पुस २ गतेदेखि नै खोप अभियान सुरु गरिएको हो। ती जिल्लालाई खोप अभियानअन्तर्गतको पहिलो वर्गमा राखिएको थियो। भूकम्पबाट प्रभाति दुइ जिल्लामा टाइफाईडबाहेक दादुरा तथा रुबेलाविरुद्धको खोप पनि लगाइएको छ। जाजरकोट र रुकुम पश्चिममा मंगलबार खोप लगाएर सकिन्छ।
राखिएको सल्यान, सुर्खेत, दैलेख, कालीकोट र जुम्लामा अभियानअन्गर्त दोस्रो वर्गमा राखेर खोप लगाईने स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक तथा खोप अभियानका फोकलपर्सन घनश्याम बुढाले जानकारी दिए।
यी जिल्लामा १६–४५ बर्ष उमेर समूहका मानिसलाई टाइफाईड विरुद्धको खोप मात्र लगाईने उनले बताए।
आपतकालित अवस्थामा स्वासप्रस्वास, दुषित पिउने पानीका माध्यमबाट लाग्ने टाइफाईडबाट बच्न सरकारले भूकम्प प्रभावित र सिमाना जोडिएका जिल्लाहरुमा खोप अभियान सुरु गरेको उनले जानकारी दिए।
‘अहिले भूकम्पको प्रभाव भोगिरहेका जिल्लाहरुमा दादुरा–रुबेला, टाइफाईडको समस्या आउन सक्छ, विशेषगरी ती जिल्लाबाट सिमाना जोडिएका अरु जिल्लामा टाइफाईड सर्ने धेरै जोखिम हुन्छ,’ फोकलपर्सन बुढाले भने, ‘अरु जिल्लामा सर्ने सम्भावित जोखिमबाट बच्न पनि आसापासका थप पाँच जिल्लामा खोप लगाउन लागिएको हो।’
टाइफाईडविरुद्धको खोप ९६ प्रतिशत प्रभाविकारी रहेको अध्ययनबाट पाइएको उनले बताए। यो खोप लगाउँदा कोभिड–१९ विरुद्धको खोप लगाएको १४ दिन पुगेको हुनुपर्छ। तत्कालका लागि संघीय सरकारले कोभिड खोपका लागि जिल्लाहरुमा आएको बजेटबाट टाइफाइड विरुद्धको खोप लगाउन भनेको बुढाले जानकारी दिए।
टाइफाईड झट्ट हेर्दा महामारीजस्तो नदेखिएपनि भित्री रुपमा गम्भिर देखिएकाले यसको सम्भावित जोखिमबाट बच्न भूकम्प प्रभावित र सिमाना जोडिएका जिल्लाहरुमा खोप अभियान चलाईएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए।
स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार सुर्खेतका २ लाख १ हजार ९६३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। सुर्खेतमा दुइ चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको छ। पहिलो चरणमा पुस १२–१५ गतेसम्म लेकवेशी नगरपालिका, चिंगाड गाउँपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन गरिँदैछ।
दोस्रो चरणमा पुस २१–२५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
सल्यान, दैलेख, कालीकोट र जुम्लामा पनि यही महिनाभित्र टाइफाईड विरुद्धको खोप अभियान सञ्चालन गरिनेछ।