सुर्खेत। उच्च अदालत सुर्खेतले आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएकामध्ये ७८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ। यो बर्षको वैशाख ३० गतेसम्म कुल ५१८ वटा (७८.८४ प्रतिशत) मुद्दा फछ्र्यौट गरिएको अदालतले जनाएको छ।
अदालतका अनुसार वैशाख ३० गतेसम्म अदालतमा ८४९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १६० वटा मुद्दा अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका हुन्।
यस आर्थिक बर्षमा उच्च अदालत सुर्खेतमा ७४४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो। यस्तै ६५७ वटा मुद्दा फछ्र्यौट गर्ने अनुमान गरिएको छ।
यस बर्ष फछ्र्यौट भएका मुद्दाहरुमध्ये जिम्मेवारी सरेर आएका १३७ र नयाँ दर्ता भएका ३८१ वटा रहेका छन्।
अदालतले कैफियत प्रतिवेदनतर्फ ७६ मध्ये ६९ वटा निवेदन फछ्र्यौट गरेको छ।
यो बर्ष परेका ८५ वटा रिट निवेदनमध्ये ५२ वटा फछ्र्यौट भएका छन्। यस्तै ८५ वटा निवेदन परेकामा सबै फछ्र्यौट भएको अदालतले जनाएको छ।
उच्च अदालतमा रहेको तथ्याङ्कअनुसार आर्थिक बर्ष ०८०/८१ को वैशाख ३० गतेसम्म १६४ वटा जबर्जस्ती करणी सम्बन्धि, ११३ वटा कर्तव्य ज्यान, सवारी ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धि, ५१ वटा लागुऔषध सम्बन्धि, ४७ वटा बहुविवाह तथा बालविवाह सम्बन्धि र १६ वटा सम्बन्धविच्छेद सम्बन्धि मुद्दाहरु दर्ता भएका छन्।
कर्णाली टाइम्स
सोमवार, बैशाख ३१, २०८१