सुर्खेत। मुगुको मुगमकार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा पसेका लुटेराको समूहले २३ घर र एक गुम्बामा लुटपाट गरेको छ। शनिबार राति ११ बजेतिर गाउँ पसेको हतियारसहितको लुटेराको समूहले गरेको लुटपाटका क्रममा चार जना घाईते समेत भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार लुटपाट भएको डोल्फु गाउँका ५३ बर्षीय दोर्जे तामाङ, १८ बर्षकी शान्ति टोमा तामाङ, १७ बर्षका पेमा दोर्जे तामाङ र २६ बर्षकी टोमा छाम्जे तामाङ घाईते भएका छन्।
उनीहरुको अवस्था सामान्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी नायव उपरीक्षक बीरबहादुर वलीले जानकारी दिए।
‘घरहरुबाट गरगहना, नगद लुटपाट भएको भन्ने आएको छ, यकिन मुचुल्का भएर आएको छैन,’ उनले भने, ‘यसमा प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ, हामी अनुसनधानको क्रममै छौं।’
शनिबार राति गाउँमा भएको उक्त घटनाबारे आइतबार बिहान ११ बजे प्रहरीलाई खबर भएको थियो। घटनालगत्तै चारैतिरबाट प्रहरी खटिएको एसएसपी वलीले बताए।
गाउँका युवाहरु यार्सा टिप्न पाटन गएको मौका छोपेर भरुवा बन्दुक लगायतका हतियारसहितको लुटेराको समूह गाउँ पसेको थियो।
गाउँमा लुटेरा समूह पसेर गरेको लुटपाटका बारेमा कर्णाली प्रदेश सभामा पनि ध्यानाकर्षण गराईएको छ। सांसद जीतबहादुर मल्लले सोमबारको वैठकमा घटनाको बारेमा ध्यानाकर्षण गराएका हुन्। मल्लले गाउँमा लुटेराले आतंक मच्चाएको र घरमा पालेका कुकुरलाई घाईते बनाएको गम्भीर घटनाको विषयमा प्रदेश सरकार गम्भीर भएर लाग्नुपर्ने बताए।
कर्णाली टाइम्स
सोमवार, जेष्ठ १४, २०८१