शनिबार, कार्तिक १०, २०८१

मुख्यमन्त्रीको पर्खाइमा कर्णालीका माओवादी मन्त्री

  
कर्णाली टाइम्स सोमवार, असार ३२, २०८१


सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी भएको तीन महिना पुगिसकेको छ। तर दुई साता यता माओवादीबाट मन्त्री बनेकाहरु राजीनामा बुझाउन मुख्यमन्त्री यामलाल कँडेलको पर्खाइमा छन्।
केन्द्रमा नेकपा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन टुटेपछि प्रचण्डले विश्वासको मत लिने अवस्थासम्म कुरेका माओवादीका मन्त्रीहरु अब राजीनामा बुझाउन मुख्यमन्त्री पर्खिरहेका छन्।
असार १७ गते केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो। त्यसपछि अल्पमतमा परेका प्रचण्ड शुक्रबार विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएपछि पदमुक्त भएका छन्। केन्द्रमा पार्टी सरकारबाट बाहिरिएपछि कर्णाली प्रदेशमा पनि माओवादीबाट सहभागी मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए।
यसअघि केन्द्रमा माओवादी र एमालेबीच दोस्रोपटक गठबन्धन हुँदा कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनेको थियो। उनको नेतृत्वमा माओवादीबाट चार जना मन्त्री बनेका छन्।
माओवादीबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, रणसिं परियार जलस्रोत तथा उर्जा विकास मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वत तथा वातावरण मन्त्री र बिरबहादुर शाही सामाजिक विकास मन्त्री छन्।
काठमाडौंमा रहेका मुख्यमन्त्री सुर्खेत फर्किनेवित्तिकै राजीनामा बुझाउने उर्जामन्त्री रणसिं परियारले बताए।
उनले माओवादीका कर्णाली प्रदेश सभा दलका नेता पनि काठमाडौंमा भएकाले प्रत्यक्ष रुपमा छलफल गर्न नसकिएको बताए। दलका नेतासँगको छलफल औपचारिकता भएपनि राजीनामा भने मुख्यमन्त्रीलाई तत्कालै बुझाउने तयारी गरिएको मन्त्री परियारले बताए।
कर्णाली सरकारबाट माओवादी बाहिरिएपछि नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनमा सरकार निर्माण हुनेछ। हाल एमालेबाट मुख्यमन्त्री रहेका कँडेलकै नेतृत्वमा केही समय नेपाली काँग्रेस सरकारमा जानेछ।
४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका १० जना सांसद छन्। नेपाली काँग्रेसका हाल १४ जना सांसद छन्। काँग्रेसका १५ जना सांसद रहेकोमा संसदीय दल नेता जीवन शाहीलाई वाइडबडी काण्डमा मुद्दा लागेपछि उनी निलम्बित छन्। प्रदेश सभामा माओवादीका १३, समाजवादीका १ र राप्रपाका १ जना सदस्य छन्।