आइतवार, कार्तिक ११, २०८१

सोमबार राजीनामा दिँदै कर्णालीका माओवादी मन्त्री

  
कर्णाली टाइम्स आइतवार, साउन ६, २०८१


सुर्खेत। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले सोमबार राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा मन्त्रीहरुले माओवादी संसदीय दलका नेताको पत्र आएपछि राजीनामा दिने बताएका छन्।
सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्र सँगै बुझाउने तयारी गरिएको माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा उर्जा तथा जलस्रोत मन्त्री रणसिं परियारले जानकारी दिए। दलका नेताबाट समर्थन फिर्ताका लागि आउनुपर्ने पत्र नआएकाले हालसम्म ढिलाई भएको उनले बताए।
‘औपचारिक रुपमा दलका नेताको पत्र पनि आएको छैन, अब आज (आइतबार) पत्र आउँदैछ, हामीले सोमबार समर्थन फिर्ता लिनेर राजीनामा दिने सँगै गर्छौं,’ उनले भने। उनका अनुसार काठमाडौंमा भएका संसदीय दलका नेता राजकुमार शर्माले आइतबार रातिसम्म ईमेलमार्फत आधिकारिक पत्र पठाउनेछन्।
यसअघिसम्म कर्णालीमा माओवादीले केन्द्रमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिनसम्म पर्खिएको थियो। प्रचण्डले विश्वासको मत नपाएपछि मन्त्रीबाट राजीनामा दिने तयारी गरेपछि मुख्यमन्त्री र दलका नेता प्रदेशमा नभएपछि अड्किएको थियो।
मुख्यमन्त्री यामलाल कँडेले शुक्रबार सुर्खेत आएका छन्।
मुख्यमन्त्री कँडेलको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा माओवादीबाट चारजना मन्त्री सहभागी छन्। महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वत तथा वातावरण मन्त्री र वीरबहादुर शाही सामाजिक विकास मन्त्री छन्।
कर्णाली सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार निर्माण हुनेछ। हाल एमालेबाट मुख्यमन्त्री रहेका कँडेलकै नेतृत्वमा केही समय नेपाली कांग्रेस सरकारमा जानेछ।
४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका १० जना सांसद छन्। नेपाली कांग्रेसका हाल १४ जना सांसद छन्। कांग्रेसका १५ जना सांसद रहेकोमा संसदीय दल नेता जीवन शाहीलाई वाइडबडी काण्डमा मुद्दा लागेपछि उनी निलम्बित छन्। प्रदेश सभामा माओवादीका १३, समाजवादीका १ र राप्रपाका १ जना सदस्य छन्।