सुर्खेत। शनिबार देखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन–२०८२’ आयोजना हुँदैछ। श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा तीन दिने छोरी सम्मेलन हुन लागेको हो। सम्मेलन वैशाख २७, २८ र २९ गते वीरेन्द्रनगरस्थित शुभ होटलमा हुनेछ।
प्रदेशमा आयोजना हुन लागेको छोरी सम्मेलन पहिलो भएको आयोजक श्री ज्योति फाउन्डेसनले बताएको छ।
सशक्तिकरण अभियानमार्फत कर्णालीका छोरीहरुलाई सचेत, सवल, सक्ष तथा आत्मनिर्भर बनाउनका साथै कर्णालीका छोरीहरुको व्यक्तित्व विकासमा सघाउ पुर्याउनु सम्मेलनको उद्देश्य भएको आयोजक फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले बताइन्।
‘यो एउटा सम्मेलनमा मात्र सिमित छैन, कर्णालीका छोरीहरुको चेतना जागृत गर्न र स्वप्निल बन्न सिकाउने एक सामाजिक सन्देश प्रवाह गर्ने जमर्को हो,’ फाउन्डेसनका अध्यक्ष कटुवालले भनिन्, ‘यो सम्मेलनलाई कर्णालीका छोरीहरुको सशक्तिकरणका लागि एक गतिशील अभियानका रुपमा लिन सकिन्छ, कर्णालीका छोरीहरु आफैं कमजोर नभएर अधिकार र अवसरबाट बञ्चित भएका कारण कमजोर छन् भन्ने राज्यलाई बोध गराउनु हाम्रो उद्देश्य हो।’
तीन दिनसम्म चल्ने यो सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहबाट प्रतिनिधित्व रहने जनाईएको छ। स्थानीय तह तथा सीमान्तकृत समुदाय, लोपोन्मुख राउटे, राजी, बादी, बोटे समुदायबाट दुई सय जना छोरीहरुको सहभागिता सम्मेलनमा रहनेछ।
फाउन्डेसनका अध्यक्ष कटुवालका अनुसार स्थानीय तह, समुदायबाट प्रतिनिधित्व गर्ने छोरीहरुले सम्मेलनमार्फत आफ्ना आवाज बुलन्द गर्ने अवसर पाउनेछन्।
सम्मेलनका प्रत्येक दिन छोरीका आफ्ना कुरा राख्ने तथा प्रवचन, बहस जस्ता विशेष सत्रहरु चल्नेछन्। सम्मेलनमा ‘छोरीका मनका कुरा’ विशेष सत्र सञ्चालन हुनेछ। यो सत्रमा कर्णालीका छोरीहरुले आफ्ना भोगाइहरु प्रस्तुत गर्नेछन्।
छोरीहरुका प्रतिभाहरु पनि यसै सम्मेलनमा प्रस्तुत गरिनेछ। ‘छोरीहरुको जीवन रुपान्तरण’ शिर्षकमा विज्ञ व्यक्तित्वबाट विश्लेषण गरिनेछ। सम्मेलनमा हुने बहसहरु छोरीहरुको सशक्तिकरण र जीवन रुपान्तरणसँग सम्बन्धित हुने आयोजक श्री ज्योति फाउन्डेसनले जनाएको छ।
‘राजनीतिमा कर्णालीका छोरी’, ‘शिक्षित छोरी किन जरुरी?’, ‘स्वस्थ छोरीः स्वस्थ कर्णाली’, ‘कर्णालीका सारथी’, ‘कानुनी सेवामा कर्णालीका छोरी’, ‘कर्णालीका खेलाडी छोरी’, ‘महिनावारीका सकस’, ‘आमाका कुरा’ लगायतका शिर्षकमा सम्मेलन अवधिभर सत्रहरु सञ्चालन हुनेछन्।
यी सबै सत्रहरुमा कर्णालीलाई जन्मथलो, थातथलो र कर्मथलो बनाउने कर्णालीका सन्ततीहरुलाई मौका दिईएको अध्यक्ष कटुवालले बताईन्।
सम्मेलनको यो पहिलो संस्करण भएको र आगामी बर्षहरुमा अन्य संस्करण पनि आयोजना गर्ने प्रयास गरिएको उनले बताईन्।
सम्मेलनको खर्च व्यवस्थापनका लागि कर्णालीका केही स्थानीय तह र सरोकारवालाहरुले प्रतिबद्धता जनाएको कटुवालले जानकारी दिईन्।