सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चार अर्ब बढीको बजेट प्रस्तुत गरेको छ। आर्थिक बर्ष २०८२र०८३ का लागि नगरपालिकाले ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको हो। जसमध्ये १ अर्ब ५९ करोड ४२ लाख ३० हजार रुपैयाँ (३६.३७ प्रतिशत) चालु खर्चका लागि विनियोजन गरिएको छ। पुँजीगत खर्चका लागि कुल बजेटमध्ये ६३.६३ प्रतिशत अर्थात् २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
सोमबारदेखि सुरु भएको नगरपालिकाको १७ औं नगरसभामा नगरपालिकाका उपप्रमुख निलखण्ठ खनालले मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन्।
पूर्वाधारको विकास, विस्तारमार्फत नगरपालिकाको सेवासुविधा र बजारमा पहुँच वृद्धि गर्ने, सहरी सौन्दर्यता कायम राख्ने, वातावरणमैत्री ढंगबाट जीवनयापन सुरक्षित र सहज बनाउने, स्वच्छ खानेपानी, सरसफाई, खानेपानीको दीगो व्यवस्पान, कृषि तथा पशुपालन पेशालाई व्यावसायिक रोजगारतर्फ उन्मुख गराउने लगायतका उद्देश्य केन्द्रित गर्दै आगामी बर्षको बजेट विनियोजन गरिएको छ।
वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ मा नगरको कर प्राणालीमा सुधार गरी ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। विभिन्न क्षेत्रमा संलग्न व्यक्तहरुले कर तिरेको अनुभूति हुनेगरि कर संकलन कार्यलाई निरन्तरता दिने बजेट वक्तव्यमा उल्लेख छ।
वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाको खानेपानी समस्याको दीगो समाधानका लागि भेरीको पानी लिफ्टिङ गरी वितरण गर्ने कार्यका लागि ‘म्याचिङ फण्ड’का रुपमा ११ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ। यसमा संघीय, प्रदेश सरकार तथा विकास साझेदार निकायसँग सहकार्य गरी स्रोत सुनिश्चित गरिनेछ।
सहरी सौन्दर्यताका पूर्वाधारहरु घण्टाघर पार्क, खुला क्षेत्र सजावट, पार्किङ स्थल निर्माणका साथै विभिन्न वडामा सञ्चालित नगर महत्वका आयोजनालाई निरन्तरता दिन आर्थिक बर्ष २०८२/८३ को बजेटबाट २२ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाका प्रत्येक वडामा ५० लाख भन्दा डूला नगर गौरवका पूर्वाधार निर्माण हुनगेगरि बजेट व्यवस्थापन गरिएको छ। जसबाट सहरी पूर्वाधारको विकास तथा विस्तारबाट सेवासुविधा र बजारमा पहुँच वृद्धि गर्ने लक्ष्य लिईएको छ।
आगामी आर्थिक बर्षभित्र नगर बस खरिद गरी सञ्चालन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश राजधानी केन्द्रित ट्राफिक बत्ती, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सिसी क्यामरा जडान, हाइमास लाईट जडान, प्रविधि जोन लगायतका पूर्वाधार निर्माणका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यसबाहेक नगरपालिकामा नागरिकका तर्फबाट आएका माग सम्बोधन गर्न पूर्वाधारतर्फ वीरेन्द्रनगरले आर्थिक बर्ष २०८२/०८३ का लागि थप २९ करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको छ।
गुणस्तरीय विद्यालय शिक्षामा बालबालिकाको समतामुलक पहुँच सुनिश्चित गर्न सशर्तबाहेक नगरपालिकाले ५ करोड ५९ लाख ६६ हजार विनियोजन गरेको छ। युवा सशक्तिकरण कार्यक्रम सञ्चालनका लागि ६० लाख, युवा तथा खेलकुद क्षेत्रमा ६१ लाख २५ हजार रुपैयाँ नगरपालिकाले विनियोजन गरेको छ।
नगरको स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि, स्वास्थ्य क्षेत्रका जनशक्तिको क्षमता विकास तथा गुणस्तरीय सेवा प्रवाहका लागि १ करोड ५९ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको छ। नगर अस्पताललाई व्यवस्थित गरी सञ्चालन गर्न ३७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
हिंसापीडित महिलाका लागि सेफहाउस सञ्चालन तथा व्यवस्थापन गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ। महिला, दलित, जनजाती, आदिवासी तथा अपांगता भएका व्यक्तिहरुको पहुँचमा वृद्धि गर्दै अर्थपूणस् सहभागिता बढाउन, युवा जागरण अभियान सञ्चालन गर्न ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरलाई विभिन्न कृषि वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ कृषि केन्द्रित ‘क्षमता विकास तथा आयआर्जन’ कार्यक्रम सञ्चालनका लागि १ करोड ३० लाख रुपैयाँ वीरेन्द्रनगरले विनियोजन गरेको छ। यस्तै कृषि तथा पशु विकास, उद्यम विकास, कृषि केन्द्रित वडातहका कार्यक्रम सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको छ।
नगरभित्रका भूमिहीनहरुलाई पूर्जा वितरण र त्यसको व्यवस्थापनका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
सहकारी, घरेलु, उद्योग, पर्यटन प्रवद्र्धन जस्ता कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
वातावरणमैत्री तवरले फोहरमैला व्यवस्थापको आधार तय गर्नका लागि वीरेन्द्रनगरले ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। नगरको हरियाली प्रवर्द्धनका लागि वडास्तरमा बजेट विनियोजन गरिएको छ। विपद जोखिम न्युनिकरण पूर्वतयारीका लागि पनि उचित बजेट विनियोजन गरिएको नगर उपप्रमुख निलकण्ठ खनालले बताए।
समयसापेक्ष संगठन तथा संस्थागत सुधार गर्दै उपमहानगर लक्षित सहरी सुविधा एवम् सुशासन कायम गर्न वीरेन्द्रनगर नगरपालिकाले १ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ। नगरभित्रका घरहरुको नम्बरिङ, नगरको स्थानगत आवधिक योजना छपाई, प्रोफाईल निर्माण जस्ता नगर महत्वका योजनाका लागि आर्थिक बर्ष ०८२/८३ मा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
कर्णाली प्रदेशका सबै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीको प्रदेशस्तरीय सम्मेलन तथा न्यायिक पहुँच सुधारका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
वीरेन्द्रनगर नगरपालिकाको आर्थिक बर्ष ०८२/८३ को कुल बजेटभित्र संघीय वित्तीय समानीकरण अनुदान २४ करोड २४ लाख, संघीय सर्शत अनुदानतर्फ प्राप्त भएको २ अर्ब २० करोड ८ लाख, संघीय राजस्व बाँडफाँडबाट प्राप्त २० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट प्राप्त ३ करोड ३४ लाख ५३ हजार, प्रदेश सशर्त अनुदानबाट प्राप्त ३७ करोड ६१ लाख ३६ हजार, घर, जग्गा, दर्ता तथा मनोरञ्जन शुल्क १५ करोड, दहत्तर–बहत्तर शुल्क २ करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ५१ करोड ६३ लाख ५० हजार, आर्थिक बर्ष २०८१/०८२ को सम्भावित बचत रकम ४१ करोड २७ लाख ८३ हजार र सामाजिक सुरक्षा अनुदान ४० करोड समावेश गरिएको छ।