सुर्खेत। बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का कर्णाली प्रदेश सदस्य रेशम खत्री पक्राउ परेका छन्। वाइसिएलका चौरजहारी नगर कमिटी ईञ्चार्ज समेत रहेका ३० बर्षीय खत्रीलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको हो।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट उनलाई पक्राउ गरिएको हो।
उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ।
१७ वर्षकी किशोरीले आफूमाथि खत्रीले जबरजस्ती करणी गरेको भन्दै कार्यालयमा दुई महिनाअघि जाहेरी दिएकी थिइन्।
मुलुकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीबिना वा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर भए पनि गरिएको करणीलाई जबरजस्ती करणी मानेको छ।
ती किशोरीलाई खत्रीले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यही घटनाबाट छोरी जन्मिएको भनेर पनि जाहेरीमा उल्लेख गरेको डिएसपी विष्टले बताए।
खत्रीले आफूलाई गर्भपतन समेत गराउन दबाव दिएपनि आफूले अस्वीकार गरेको ती किशोरीले निवेदनमा उल्लेख गरेकी छन्। छोरीको जन्म भएपछि खत्रीले नै सबै खर्चको व्यवस्थापन गर्ने आश्वासन दिएको र मुद्दा मामिलामा नजान चेतावनी दिएको उनको आरोप छ।
यस घटनामा दुई महिनाअघि नै जाहेरी परे पनि खत्री फरार थिए। बिहीबार गोप्य सूचनाको आधारमा प्रहरीको टोली होटलमा पुगेर उनलाई पक्राउ गरेको डिएसपी विष्टले बताए।
पक्राउ परेका खत्रीलाई शुक्रबार अदालतबाट म्याद थपका लागि लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।