शुक्रबार, असार २०, २०८२

मिडियामा बालबालिकाका विषयलाई महत्व दिनुपर्नेमा जोड

  
कर्णाली टाइम्स शुक्रबार, असार २०, २०८२


सुर्खेत। पत्रपत्रिका र पत्रकारहरुले बालबालिकाकासँग सम्बन्धित विषयलाई महत्व दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। बालबालिकाका अधिकार कार्यानवयन, उनीहरुको नविनताम सिर्जना, बालबालिकाले गरेका सकारात्मक कार्य जस्ता विषयलाई समाचारका रुपमा सञ्चारमाध्यमले प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुले जोड दिए।

‘बालकेन्द्रित मिडिया कभरेज’ का बारेमा सेभ द चिल्ड्रेनले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्रकारहरुबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बालबालिकालाई पीडित पात्रका रुपमा मात्र नभएर ‘गेमचेञ्जर’ रुपमा लिएर समाचार तथा फिचर प्रकाशन गर्नुपर्ने बताएका छन्।

कर्णाली प्रदेशस्तरीय बालक्लव सञ्जालका महासचिव अस्मिता खड्काले सञ्चारमाध्यममा बालबालिकाका सकारात्मक तथा प्रेरणान्तमक विषय समेटिनुपर्ने बताईन्। बालबालिकाका सिर्जनात्मक कुरा, उनीहरुको नेतृत्व, खबरदारीका लागि बालबालिकाले गरेका अभियानहरुका बारेमा सञ्चारमाध्यमले विशेष स्थान दिनुपर्ने उनले बताईन्।

‘धेरैजसो बालबालिकाले चलाएका अभियानहरुले समाजमा सकारात्मक परिवर्तन पनि ल्याएका छन्, यी कुरा हामीले सञ्चारमाध्यममा आओस् भन्ने चाहेका हुन्छौं,’ खड्काले भनिन्, ‘सञ्चारमाध्यममा आएका विषयले अरु बालबालिकालाई पनि प्रेरणा मिल्ने भएकाले विशेष स्थान मिडिया जगतले दिनुपर्छ।’

उनले बाबालिकाका समाचार प्रकाशन गर्दा गोपनीयता कायम राख्दै सामाजिक, धार्मिक, जातीय जस्ता मुद्दामा बालबालिकालाई नजोड्न पनि आग्रह गरिन्।

बालकल्वका प्रतिनिधि प्रेमबहादुर सुनारले सञ्चारमाध्यमले संवेदनशिलता अपनाएर बालमैत्री विषयलाई स्थान दिनुपर्नेमा जोड दिए। पोषण, बालमैत्री शिक्षा, विद्यालयमा बालमैत्री पूर्वाधार, स्वास्थ्य जस्ता बालबालिकाको अधिकारसँग प्रत्यक्ष जोडिएका विषयलाई खोजमुलक तवरबाट सञ्चारमाध्यमले समाचार लेखन तथा प्रकाशन गर्नुपर्ने उनले बताए।

‘बालबालिकाहरु अहिले पनि विद्यालय बाहिर छन्, सञ्चारमाध्यमले यी विषयमा नियमित प्रश्न गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘दुर्गमका विद्यालयहरु अहिले पनि बालमैत्री बन्न सकेका छैनन्, यी विषयमा मिडियाले वकालगत गर्नु आवश्यक छ।’ उनले बालकेन्द्रित स्टोरी मिडियाले तयार पार्दा सकारात्मक दृष्टिकोणबाट बालबालिकालाई हेर्नुपर्ने बताए।

बालबालिका देशका शक्तिशाली भविष्य भएकाले उनीहरुलाई शक्तिविहीन पात्रका रुपमा मिडियामा उल्लेख नगर्न बाल अधिकारका लागि साझा अभियान (सिसीआर) कर्णालीका सचिवालय प्रमुख टेकराज आचार्यले सुझाव दिए। कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा गरिने लगानी न्युन रहेको बताए।

उनले बालअधिकारको कार्यान्वयन र उनीहरुको विकासका लागि मिडिया कभरेज उपयुक्त हुने बताए।

नेपालमा गरिएको एक अध्ययनअनुसार नेपालका मिडियामा बालबालिकाका विषय २ प्रतिशत मात्र समावेश हुने गरेको सेभ द चिल्ड्रेनका कम्युनिकेशन म्यानेजर अरुण राईले बताए। त्यसभित्र पनि अनुसन्धानमुलक विषय समावेश नभएको उनले बताए। सेभ द चिल्ड्रेनले मिडियालाई दीगो साझेदारका रुपमा लिने गरेको उनले बताए।

उनले मिडियामा बालबालिकाका विषयमा प्रकाशित कतिपय समाचारहरुमा संवेदनशिलता कमजोर देखिएको बताए।
सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्नराज ओझाले बालअधिकार र उनीहरुको विकासका लागि गम्भीर भएर लाग्न सञ्चारमाध्यमहरुलाई आग्रह गरे।

बालकेन्द्रित मिभिया कभरेज विषयक अन्तरक्रियामा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरु सहभागी थिए।