
सुर्खेत। सुर्खेत प्रहरीले गैरकानुनी काम गरिरहेको गिरोहलाई पक्राउ गरेको छ। अफिम र नक्कली नोटको कारोबार गरिरहेको गिरोहलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर, छिन्चु र कोहलपुरबाट पक्राउ गरेको हो। सोमबार पक्राउ परेका पाँच जनालाई मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
सोमबार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा जाजरकोटको कुशे गाउँपालिका–५ का २२ बर्षीया दिलमाया सिंह, ३३ बर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका–७ का ३५ बर्षीय कृष्णबहादुर वली, ३८ बर्षीय प्रेमबहादुर विक र कालीकोटको नरहरीनाथ गाउँपालिका–४ का मनबहादुर सहकारी रहेका छन्।
दिलमायालाई वीरेन्द्रनगर–१ शान्ति टोलबाट पक्राउ गरिएको हो। उनको साथबाट १ हजार दरका ६ थान नक्कली नोट बरामद गरिएको छ। उनकै कोठमा लुकाएर राखिएको १२ लाख ३६ हजार रुपैयाँ बराबरको नक्कली नोट पनि बराम गरिएको छ।
उनीहरुको गैरकानुनी कार्य गर्ने गिरोह नै भएको दिलमाया पक्राउ परेपछि खुलेको प्रहरीले जनाएको छ। दिलमाया पक्राउ परेको केही समयपछि प्रहरीले रामबहादुर सिंहलाई पक्राउ गरेको थियो।
सोमबार नै राति प्रहरीले ११ किलोग्राम लागुऔषध अफिमसहित जाजरकोटको कुशे गाउँपालिका– ७ घर भई हाल सुर्खेतको भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने कृष्णबहादुर वली र प्रेमबहादुर विकलाई कोठाबाटै नियन्त्रणमा लियो। उनीहरु पनि दिलमाया र रामबहादुर सिंहसँगै सम्पर्कमा रहेर गैरकानुनी धन्दा गरिरहेका थिए।
मंगलबार बिहान साढे ८ बजे कोहलपुरबाट सुर्खेत प्रहरीले सहकारीलाई पक्राउ गरेको हो। सुर्खेत र कोहलपुरको प्रहरी टोलीले पत्रकारको आवरणमा आपराधिक गिरोहको कमान्ड गरिरहेका मनबहादुर सहकारीलाई पक्राउ गरेको हो।
बाँकेको कोहलपुर नगरपालिका–११ न्युरोडस्थित जनगर्जन नेटवर्क प्रालि नामक मिडियाको आवरणमा नक्कली नोटको कारोबारसँगै नक्कली नोट बनाउने गैरकानुनी कार्यमा संलग्न सहकारीलाई प्रहरीले पक्राउ गरेको हो।
आफूलाई पत्रकार बताउने सहकारीको कोठाबाट ५१ हजार रुपैयाँ बराबर नक्कली नोट बरामद गरेको छ। उनकै कोठाबाट १ ग्राम अफिपम, नक्कली नोट बनाउन प्रयोग गरिएको प्रिन्टर, कम्युटर, कार्डरिडर, मेमोरी र क्यामेरा पनि बरामद गरिएको एसपी शाहीले जानकारी दिए।
पक्राउ परेकाहरुमाथि लागुऔषध तथा जाली नोट कारोबारमा मुद्दा चलाउने तयारी रहेको उनले जानकारी दिए।
पक्राउ परेको यो गिरोहले झण्डै २ लाख रुपैयाँ सक्कली नोटसँग नक्कली नोट साटफेर गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
