
सुर्खेत। सुर्खेत प्रहरीले लागुऔषध र अत्याधुनिक हतियारसहित पक्राउ परेका छन्। बिहिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो।
हतियार र लागुऔषधसहित पक्राउ परेका शाही ज्यान मार्ने उद्योगको मुद्दामा समेत अभियुक्त ठहरिएका थिए। सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार २०७८ सालमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न भएका उनी फरार थिए। सोही घटनाका अन्य तीन जना पक्राउ परे पनि शाही फरार सूचिमा थिए।
ज्यान मार्ने उद्योगमा फरार रहँदा शाहीले लागुऔषधको ठूलो सञ्जाल चलाएर बसेको देखिएको प्रहरीले जनाएको छ।
बिहिबार स्थानीयले दिएको गोप्य सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको एसपी शाहीले जानकारी दिए।
उनीहरुको साथबाट हतियारका रुपमा प्रहरीले एक थान सेमीअटोमेटिक चाइनिज पेस्तोल, दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक बरामद गरिएको छ।
यस्तै लागुऔषधका रुपमा उनीहरुबाट १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम बरामद गरिएको छ।
प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ पनि शाही र घिमिरेको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
शाही र घिमिरेले उनीहरुले नेपालगञ्ज सीमावर्ती क्षेत्रबाट लागुऔषध खरिद गरी सुर्खेत लगायत क्षेत्रमा महँगोमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
लागुऔषध कारोबार गर्दा आईपर्ने जोखिम अवस्थामा प्रयोग गर्ने उद्देश्यले उनीहरुले हतियार राखेको एसपी शाहीले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई लागुऔषध, हातहतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाईएको एसपी शाहीले जानकारी दिए।
