मंगलबार, कार्तिक ११, २०८२

हनी ट्रयापमा पारी पैसा असुली गर्ने २१ बर्षीय युवति पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, साउन ६, २०८२


सुर्खेत। ‘हनी ट्रयाप’मा पारी पैसा असुली गर्न खोज्ने एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो।

२०८१ भदौमा सिन्दु र मनोज कोईरालाबीच सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाईदिने भन्दै सिन्दुले ‘हनी ट्रयाप’मा पैसा असुली गरेको आरोप लागेको छ।

कोईरालाको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

गत भदौमा वीरेन्द्रनगर–६ बुद्धपथस्थित बुलबुले भ्यू होटलमा सिन्दुले आफैं कोइरालालाई बोलाएकी थिईन्। सोही होटलमा दुई जनाबीच सहमतिमा यौन सम्बन्ध भएको प्रहरीले जनाएको छ।

उक्त सम्बन्धको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेर बलात्कार मुद्दामा फसाउने भन्दै सिन्दुले मनोजसँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको जाहेरी परेको छ। उक्त रकम उनले फरकफरक मितिमा पीडितबाट लिएकी थिईन्।

पक्राउ परेकी सिन्दुलाई हनी ट्रयापमा पारी पीडितबाट आर्थिक लाभ लिएको कसुरमा प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको डिएसपी बुढथापाले जानकारी दिए।