शुक्रबार, जेष्ठ ४, २०८१

दुईवटा बाटोले सँधै विवाद

  
कर्णाली टाइम्स बिहीबार, फागुन ८, २०७६
बिहिबार बाबियाचौरमा स्थानीयले टायर बालेर सडक अवरुद्ध गर्दै

जगतदल जनाला विक

सुर्खेत, ८ फागुन । तत्कालीन सरकारले २०४६ सालमा वीरेन्द्रनगरको बांगेसिमलदेखि सुर्खेत पश्चिमको बेनीघाटसम्म सडक बनाउने निर्णयसहित बजेट विनियोजन ग¥यो । उक्त बाटोको सर्भे सालकोट, पलैंटे, बराइँचे, चतुरे, दुलालथाई हुँदै विद्यापुरसम्म गरिएको थियो । पञ्चपुरी–२ का डिल्लीराम निउरेका अनुसार त्यही बाटोको ट्र्याक खम्बागाडे सम्म खोलियो । बाटोको नक्सा सालकोटबाट भएपनि तल्लो ठाउँमा पर्ने कोटीहोम, बाबियाचौरबाट सडक खन्न थालेपछि त्यहीबेला सालकोटका स्थानीयहरुले खनिरहेको डोजरमै बसेर धर्ना दिए । तर प्रहरीको बलमा बाटो तल्लोतर्फ नै लगियो । अर्को बर्ष सालकोटखेखि पलैंटेसम्म अर्को ट्र्याक खनियो । बाटो बनेपनि गाडी चल्न नसकेको उक्त बाटोमा २०५९ सालमा तत्कालीन नेकपा माओवादीको अगुवाईमा जनताले नै बाटो बनाए र गाडी गुडन् सुरु भयो । सरकारले २०७५ जेठ ६ गते १ हजार २०० किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने निर्णय ग¥यो । यही पुस ७ गते मदन भण्डारी राजमार्गको पश्चिमी क्षेत्र सालकोटमा बाटो सर्भे गर्ने क्रममा विवाद भयो । माथिल्लो भागमा सर्भे गरिरहेको टोलीलाई तल्लो बाटो सर्भे गर्न लगाइयो ।

यहि पुसमा सर्भे विवाद भएपछि सालकोट पलैंटेमा स्थानीयले गरेको आन्दोलन

माथिल्लो बाटोमा सर्भे गर्नुपर्ने मागसहित पञ्चपुरीका १, २, ३, ४, ६, ८ र ९ का स्थानीयले पाँच दिनसम्म आन्दोलन नै गरे । पन्चपुरी नगरपालिका–२ को खम्बागाडेबाट सालकोट, चतुरे बाबियाचौर हुँदै राजमार्गको सर्भे गर्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका थिए । जनप्रतिनिधि, मन्त्री, सांसद र राजनीतिक दलका प्रतिनिधिबीच भएको सम्झौता अनुसार खम्बागाडे, सालकोट हुँदै सडक सर्भे गर्ने सम्झौता भयो । सर्भे टोलीले बराइँचेसम्म सर्भे ग¥यो । स्थानीय जीवन ढुंगानाका अनुसार पहिले नै बनाइएका दुईवटा सडकका कारण स्थानीय आन्दोलन गर्न बाध्य भएका छन् । दुईवटा सडकमध्ये एउटालाई मुख्य र एउटालाई सहायक घोषणा गरेर विवाद सल्टाउनुपर्ने उनी बताउँछन् । धेरै जनसंख्या भएको क्षेत्रबाट राजमार्गको सर्भे नगरी केही मान्छेको स्वार्थमा जंगलबाट सर्भे गरेको स्थानीय झक्की बहादुर सिजापतिले गुनासो गरे । उनकै संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको छ । यही विषयमा फेरि पनि आन्दोलन सुरु भएको छ । बिहिवार बाबियाचौरमा स्थानीयले तल्लो बाटो सर्भे गर्नुपर्ने भन्दै सडक र बजार बन्द गराएका थिए । स्थानीले पञ्चपुरी नगरपालिकाको कार्यालयमा ताला समेत लगाए । यस्तै आन्दोलनकै क्रममा स्थानीयले पञ्चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्र थापा, प्रदेश सभा सदस्य विन्दमान विष्ट, स्वास्थ्य राज्यमन्त्री नवराज रावत लगायतका पुत्ला बनाएर जलाएका छन् । जनप्रतिनिधिले आफूहरुलाई सौतेनी व्यवहार गरेको भन्दै स्थानीयले पुत्ला जलाएका हुन् ।

नगरप्रमुख, त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सांसद र स्वास्थ्य राज्यमन्त्रीको फोटोहरु जलाउन लिंदै स्थानीय

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले केन्द्रबाटै सडकको डिपीआर गर्ने भन्ने विषयमा टुंगो नलगाएकाले समस्या भएको बताए । ‘कुन बाटोमा आधिकारिक सर्भे गर्ने हो भन्ने विषयमा स्पष्ट नखुलाउँदा हामीलाई स्थानीय स्तरमा काम गर्न असहज भएको छ,’ उनले भने, ‘भुगोल र जनसंख्याका आधारमा दुबै बाटो आावश्यकता छ, दुबै बाटोको स्तरोन्नति गर्नु नै समस्याको समाधान गर्नु हो ।’

नगरपालिकामा ताला लगाउन गएका स्थानीय

मन्त्रिपरिषद्को वैठकले चुरे तथा भित्रि मधेसका उपत्यका जोड्ने योजनासहित मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको हो । झापाको शान्तिनगरबाट सुरु भएर डडेलधुराको रुपाल पुगी टुङ्गिने उक्त राजमार्गले धरान, चतरा, गाइघाट, सिन्धुलीमाडी, हेटौँडा, गैँडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान मच्छी, घोराही, बोटेचौर सुर्खेत, बड्डीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा हुँदै रुपालसम्मलाई जोड्नेछ ।