शुक्रबार, जेष्ठ ४, २०८१

‘संविधानको रक्षा र संसदको नियन्त्रणमा चल्ने राजसंस्था चाहियो’: कमल थापा

  
कर्णाली टाइम्स सोमवार, फागुन १२, २०७६
पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा

जगतदल जनाला वि.क
सुर्खेत, १२ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको रक्षा र संसदको नियन्त्रणमा रहि जन केन्द्रित शासन प्रणाली सहितको राजसंस्था ल्याइने बताएका छन् । विभिन्न षड्यन्त्रमा पारेर विस्थापित गरिएको राजसंस्थालाई नयाँ र लोकतान्त्रिक तरिकाले स्थापित गर्नुपर्नेमा उनको जोड छ । सोमबार राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुगेका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा नेपालको सार्वभौमसत्तालाई बचाउन बलियो राष्ट्रबादी संस्था आवश्यक रहेको थापाको दाबी रहेको छ ।
‘बिगतका इतिहाँस र त्याग तपस्या अनुसार पृथ्वीनारायण शाहको बंशज नै राजा हुनुपर्ने, संसद र संविधानको रक्षागर्ने व्यक्तिलाई नै राजा बनाउने व्यवस्थालाई हामीले परिकल्पना गरेका छौं ।’ उनले भने,’ संसद र संविधानले अयोग्य ठहराएमा राजा फेर्न सकिने गरी हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको पक्षमा आवाज उठाइरहेका छौंैं ।’

उनले अहिले संविधान संशोधन गर्न सत्तारुढ नेकपाले खोजिरहेको बताउँदै नेकपाले संविधानको मर्मविपरित संसोधन गरि आफ्ना नेताहरुलाई अवसर दिन खोजेको आरोप लगाए ।
‘संविधान संशोधन नै गर्ने भए ८० प्रतिशत हिन्दु भएको नेपाललाई हिन्दु राष्ट्र बनाई राजसंस्थाको पुर्नस्थापना गर्नु प¥यो ।’अध्यक्ष थापाले भने,’संविधान निर्माताको परिकल्पना निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउने होइन । सत्तारुढ नेकपाले आफ्नो स्वार्थका लागि संविधान संशोधनको तयारी गरेको छ ।

‘एमसीसी भित्रका विषय संशोधन गरेर ल्याउँदा राष्ट्रको हितमा हुन्छ’

अध्यक्ष थापाले एमसीसी भित्र रहेका प्राविधिक विषयहरुलाई संशोधन गरेर ल्याउँदा नेपालको हितमा हुने बताए ।
सत्तारुढ दल भित्रका आपसी झगडा, विवादका कारण विभिन्न भ्रमपुर्ण अभिव्यक्ति आएको बताउँदै उनले यो विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने सुझाव दिए ।
‘तुलनात्मक रुपमा यो सम्झौताका लागि राप्रपाको पनि सानो भुमीका रहेको छ । तर खासगरी अहिलेका सत्तारुढ र प्रतिपक्ष दलका जिम्मेवार व्यक्तिहरु नै हस्ताक्षरका लागि आन्तरिक भागबण्डामा जुटेका थिए ।’ उनले भने,’ आफ्नो सम्झौता र हस्ताक्षरमा उहाँहरु अहिले किन अडान लिन सक्नु भएन ।’
पार्टी एकताको प्रसंगमा पत्रकारहरुले राखेको प्रश्नमा उनले एकताको लागि सदैव ढोका खुल्लै रहेको बताए । ‘हामी बीच पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको छ । पशुपति शमसेर जबरा र डा.प्रकाशचन्द्र लोहनी जी ले केहि समय माग गरेका कारण रोकिएको छ ।’ उनले भने,’ अहिले हामी संगठन निर्माणमा हिडेका छौं ।

देशमा भ्रष्टाचार बढिरहेको र धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब तथा प्रभाव पनि बढिरहेको उनले बताए ।