बुधबार, बैशाख १९, २०८१

विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा

  
कर्णाली टाइम्स मंगलबार, फागुन २७, २०७६


सुर्खेत । नेकपाका नेतृ एवं राष्ट्रपतिका स्वकीय सचिव दीपा शर्माले आफ्नो विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरेकी छन् । भक्तपुर बालकोटका प्रशान्त ढकालसंग मंगलबार विवाह बन्धनमा बाँधिएकी शर्माले ‘ देवी हरि भवानी स्मृति अक्षय कोषको घोषणा गरेकी हुन् ।
दैलेख नारायण नगरपालिका २ रुपाखेत निवासी शर्माले स्वर्गीय बाजे,बज्यै देवीप्रसाद शर्मा, हरिमाया शर्मा र भवानी शर्मा रुपाखेतीको नाममा स्थापित कोषबाट दैलेख जिल्लाबाट सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र–छात्रा गरी दुई जनालाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्य रहेको बताइएको छ । सुरुमा २ लाख ९० हजार रुपैयाँको कोष निर्माण गर्ने र वर्षेनि कोषमा रकम थप्दै जाने शर्माले बताइन् ।
कोषमा शर्माका बुवा विष्णुप्रसाद शर्मा, आमा चित्रा शर्मा, माइला बुवा भीमराज शर्मा माइली आमा मोहनकुमारी शर्मा, कान्छा बुवा रवीन्द्रराज शर्मा र जानकी शर्माले प्रति परिवार ५०÷५० हजार रुपैयाँ अक्षय कोषका लागि घोषणा गरेका छन् ।