ए सरकार ! सुन
म एक श्रमिक
भयानक रोग भन्दा
भयानक त भोको पेट रहेछ
बुझेकी छु, भोगेकी छु
म बन्दी बन्न सक्दिन
कति दिन ?हप्ता वा महिना ?
म पर्खिन सक्दिन
मनभित्र अराजकताले कोलाहल
मच्चाइरहेछ, म के गरुँ ?
(१)
गुमनाम भएर बाँच्न पनि सक्दिन
रित्तो पेट सँगैै मनमा
क्रोधको राँको बल्छ
युद्ध गरौं को सँग ?
आफ्नै विरुद्ध भोकले युद्द गरिरहेछ
सन्तानहरुको कोलाहलले
आकृष्ट मेरो मन
छिद्र छिद्र भएर धुवाँ निस्किन्छ, म के गरुँ ?
(२)
म एक श्रमिक, म एक आमा पनि हुँ
राहातका पोकाहरु आउँछन्
तर भोटिङ कार्डमा मेरो नाम छैन
रातो माटोमै लत्पतिएर
यहि सुगन्धमा बाँचेकी म
आज आएर बुझेकी छु
मेरो अस्तित्व के ? म को ?
म मान्छे भएर पनि मान्छे हुन सकिन
म के गरुँ ?
(३)
दिनभरिको कमाईले
साँझमा खाना किनेर खाने म
म सँग त पत्रैपत्र परेका
चट्टान जस्तै भोकका अनुभवहरु छन्
तर मेरा चिचिला सन्तानहरुको
त्यो आँखामा भोकको डर
अहँ ! म बयान गर्न सक्दिन
म सहन सक्दिन
अचानक,
बन्द भइदिए बाटाहरु
म बिना जवाफ निष्क्रिय बनेको छु
मेरो आर्तनाद कसले देख्ने ?
म भित्रभित्रै आफैंमा आलाप खनेको छु
तर म के गरुँ ?
(४)
निर्दोष बच्चाका अनुहारले
गिज्याइरहे झैं लाग्छ
म आमा हुनुमा श्राप झैं लाग्छ
मेरा नयनहरु तरल बनिदिन्छ्न
मलाई मृत्युसँग भय छैन हजुर
न त यो प्रलयकारी कोरोनासँग
म त भोको पेटहरुमा
अत्यधिक भयमा गुज्रिरहेछु
म के गरुँ ?
(५)
मलाई तिम्रो जस्तो पद प्रतिस्ठा
र राजनीतिको
उत्कट अभिलाषाको भोक छैन
बस रित्तो पेटको ज्वाला निभाउने
तीब्र अभिलाषा छ, एक पुकार छ
सुन,
भोकमा मान्छे दिग्भ्रमित हुन्छ
ए सरकार मलाई सुनेनौ भने
म एक श्रमिक, एक आमा
म आफ्ना सन्तान जोगाउन
सुनामीभन्दा पनि बिनाशकारी बन्नेछु
मेरा सन्तानहरु र मेरो भोक मेटाउन
म महाकाली जस्तै उर्लिनेछु
नियम, कानुन, बन्धन सबै तोड्नेछु
भोकको उत्तेजनामा म क्रोधको
राँको सल्काउनेछु
र, मेरा सन्तानहरुको
अनुहारमा बिहानी फर्काउने छु
अनि रोकिएका मेरा कार्यहरुको अनुष्ठान गर्नेछु
तिम्रो शुन्यदृष्टिले
मलाई कोरोनाभन्दा बिषालु बनाउँदै छ त
म के गरुँ ?
(६)
उही श्रमिक आमा
सिर्जु शाह
वीरेन्द्रनगर–७, इत्राम, सुर्खेत (होम क्वारेन्टाइन)