शुक्रबार, कार्तिक ९, २०८१

बाटोमा हिंड्ने बटुवालाई लायन्स क्लबले दिन्छ दही, चिउरा

  
कर्णाली टाइम्स सोमवार, बैशाख १५, २०७७

 सुर्खेत । लायन्स क्लब सुर्खेतले गन्तव्यतर्फ हिँडेका अलपत्र बटुवा र यात्रुलाई दही, चिउरा खुवाउने गरेको छ । क्लबले बैशाख १२ गतेबाट कर्णालीका विभिन्न जिल्लामा गन्तव्यतर्फ हिँडेका नागरिकहरुलाईे दहीचिउरा खुवाउने गरेको हो ।
भोकभोकै आउने गरेका यात्रु तथा बटुवालाई दहीचिउरा खुवाउन थालिएको लायन्स क्लबका सिनियर डिस्ट्रिक्ट एड्भाइजर विजय पराजुलीले बताए । उनका अनुसार काठमाडौंलगायतका जिल्लाबाट आएर धुलियाविटमा रोकिएका यात्रुलाई लायन्स क्लबको तर्फबाट दही, चिउरा र पानी खुवाउने गरिएको छ । यसरी खुवाउने काम लकडाउन अवधिसम्मका लागि निरन्तरता दिइनेछ ।
लकडाउनका कारण होटल–पसल नखुलेका कारण यात्रु र बटुवा भोकभोकै यात्रा गर्न बाध्य छन् । कर्णाली प्रदेश सरकारले त्यस्ता यात्रु र बटुवालाई खाना–खाजाको व्यवस्था गर्न सामाजिक संघसंस्थाहरूलाई सार्वजनिक अपिल गरेको थियो । ‘भोकाको पेट भर्नु लायन्सको दायित्व हो, त्यसमाथि प्रदेश सरकारले पनि अनुरोध गरेको छ,’ पराजुलीले भने, ‘अरू दिनमा पनि गन्तव्यमा पुग्नका लागि यात्रा गरिरहेका बटुवा र यात्रुलाई खाना र पानीको व्यवस्था गर्छौं ।’
काठमाडौं लगायतका विभिन्न जिल्लाबाट कर्णालीमा दैनिक १ हजारभन्दा बढी नागरिक भित्रिने गरेका छन् ।