बुधबार, बैशाख १९, २०८१

महामन्त्री खड्काका २१ स्टाटस, जसभित्र छन् सरकारलाई सुझाव र खबरदारी

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ३०, २०७७

सुर्खेत । सामान्यतयाः विपक्षी राजनीतिक दलका नेता/कार्यकर्ता सरकारका बिरोधीजस्ता देखिन्छन् । रचनात्मक सल्लाह–सुझाव दिनुभन्दा गलत कामलाई कोट्याउने काम नेपाली राजनीतिको आमप्रवृत्ति बनेको छ ।

कोरोना संक्रमणले देश लकडाउनमा फसिरहेको बेला नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने फरक चरित्र देखाएका छन् । उनले लकडाउन भएयता कर्णाली प्रदेश सरकारका साथै संघीय सरकारलाई सल्लाह सुझाव दिँदै आएका छन् । गंभीर प्रश्नहरु उठाउँदै सरकारलाई सही बाटोमा हिँड्न खबरदारी पनि गर्ने गरेका छन् । यसको लागि उनले मुख्यमन्त्रीसहित जनप्रतिनिधिसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुका साथै सामाजिक सञ्जालको सदुपयोग गर्ने गरेका छन् । महामन्त्री खड्काका अधिकांश सुझावअनुसार प्रदेश सरकार र संघीय सरकारका निर्णयसमेत हुने गरेका छन् ।

लकडाउन अवधिमा खड्काले कोरोना संक्रमणसँग सम्बन्धित २१ वटा स्टाटस लेखेका छन् । ती स्टाटसमार्फत सरकारलाई थुप्रै सुझाव दिएका छन् । सरकार र सरोकारवालाई घोत्लिन बाध्य पार्ने प्रश्नसमेत गरेका छन् ।

बाँकेमा कोरोना संक्रमण देखिएपछि उनले खतराको घण्टी बजिसकेको भन्दै प्रदेश सरकारलाई सचेत गराएका थिए । उनले वैशाख २२ गते बिहान फेसबुकमार्फत तत्काल दक्षिणतिरबाट मानवीय प्रवेश रोक्नको लागि नाका सिल गर्न सुझाव दिएका थिए । यसका साथै कोरोना परीक्षण तीब्र पार्न र आरडिटीमा भर नपरी पिसिआरबाट परीक्षण गर्न सुझाव दिएका थिए । ‘बबई र कुइनेमा क्वारेन्टाइनको निर्माण गरौं,’ उनले स्टाटसमार्फत भनेका छन्, ‘कर्णाली प्रवेशद्धारमा परीक्षणको भरपर्दो प्रवन्ध गरौं ।’

प्रदेश सरकारले सुझाव सुनेर हो वा आफ्नै विवेकबाट हो, २२ गते नै सीमा सिल गर्ने निर्णय गरेको थियो । सोमबार बबईमा क्वारेन्टाइनमा राख्ने निर्णय पनि भएको छ ।

महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत संघीय सरकारलाई पनि कर्णालीको सन्दर्भमा गंभीर भएर काम गर्न सुझाव दिएका छन् । ‘कर्णाली प्रदेशका संवेदनशीलतालाई ध्यान दिई तत्काल पर्याप्त पिसिआर उपलव्ध गराउन र १० वटै जिल्लामा बिलम्ब नगरी अभियानको रुपमा कोरोना परीक्षण समुदायस्तरमा व्यापक रुपमा सुरु गरियोस्,’ उनले भनेका छन् ।

महामन्त्री खड्काले चैत १० गते नै पहिलो चरणमा कम्तीमा प्रदेशका राजधानीमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न सरकारलाई सुझाव दिएका थिए । त्यसको करिब एक सातापछि सुर्खेतमा समेत पिसिआर प्रविधिबाट परीक्षण सुरु भएको थियो । कोरोनासम्बन्धी अफवाह फैलिइरहेको बेला महामन्त्री खड्काले ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरससम्बन्धी जनचेतना र आधिकारिक जानकारीको लागि दैनिक कम्तीमा दुईपटक निश्चित समयमा बुलेटिन निकालेर सूचना प्रवाह गरोस्’ भन्दै सुझाव दिएका थिए । त्यसको केही दिनपछि स्वास्थ्य मन्त्रालयले दिउँसो ४ बजे टेलिभिजनमार्फत जानकारी दिन सुरु गरेको थियो । यसका साथै उनले दैनिक उपभोग्य खाद्य सामग्री र अत्यावश्यक बस्तुसँग सम्बन्धित पसलहरु निश्चित समयमा मात्र खोल्दा भीडभाड हुने भएकोले यस्ता पसल बिहानदेखि बेलुकीसम्म खोल्ने बन्दोबस्त मिलाउन पनि सरकारलाई आग्रह गरेका छन् । महामन्त्री खड्काले संकटको बेला ७ सय ५३ वटै स्थानीय तहमा सक्रिय स्थानीय तहलाई संकटको बेला कहाँ गायब छन् भन्दै प्रश्न पनि गरेका छन् ।

पछिल्लोपटक आइतबार प्रदेश सरकारलाई ६ वटा गंभीर प्रश्न गर्दै समयमै सचेत भएर एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् । उनले भनेका छन्, ‘भारतबाट कर्णाली प्रवेश गरेका सबै नागरिकको परीक्षण गरिसक्यौं सरकार ? अनि भोलि एकैचोटि भुसको आगो झैं संक्रमण नदेखिएला भन्ने के भर छ र सरकार ?’

बिगतमा सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र संविधानसभामा प्रतिनिधित्व गर्दै गृहसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका महामन्त्री खड्काले लकडाउन अवधिमा विशेष गरी कर्णालीको अवस्थाबारे बढी चासो राखेका छन् । उनले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालालाई समेत टेलिफोनमार्पmत सम्पर्क गरी सल्लाह, सुझाव दिएको उनी निकट विद्यार्थी नेता गौतम बिसीले बताए ।