शनिबार, कार्तिक १०, २०८१

सुर्खेतको मेसिनमा भार पर्ने भएपछि ८ सय ८० स्वाब जुम्ला पठाइयो

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ १६, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रहेको मेसिनलाई भार पर्ने भएपछि सुर्खेतबाट ८ सय ८० स्वाब जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बिहीबार ८ सय ८० स्वाब जुम्ला पठाएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जानकारी दिइन् ।
निर्देशक भण्डारीका अनुसार पठाइएका स्वाब दैलेख र सुर्खेतका हुन् । २ सय ४५ स्वाब सुर्खेतबाट र थप स्वाब दैलेखको दुल्लु तथा महाबु क्षेत्रबाट पठाइएको उनले बताइन् । ‘सुर्खेत प्रदेश प्रवेश गर्ने प्रमुख नाका र प्रदेशको केन्द्र भएको हुनाले यताको मेसिनमा भार पनि बढी हुने गरेकोले जुम्लासँग समन्वय गरि स्वाब पठाइएको बताइन् ।
यसका साथै सुर्खेतको प्रयोगशालामा नयाँ ल्याइएको आरएनए एक्प्रेसन किट र मेसिनको म्याचिङमा क्यालिब्रेसन नमिन्दासमेत परीक्षण प्रभावित भएको छ । निर्देशक भण्डारीले अहिले पनि सुर्खेतस्थित प्रयोगशालामा करिब २ सय ४५ स्वाब प्रोसेसमा रहेको जानकारी दिइन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले सुर्खेतबाट पठाइएका स्वाब शुक्रबारै परीक्षण गरी रिपोर्ट दिने तयारी भएको बताए । उनका अनुसार वैशाख २२ देखि परीक्षण थालेको जुम्लास्थित प्रयोगशालाले बिहीबारसम्म ३ हजार १ सय २३ नमुना परीक्षण गरेको छ । जुम्लाले काठमाडौंपछि बढी संख्यामा स्वाब परीक्षण गर्दै आएको छ ।
प्रतिष्ठानको शिक्षण अस्पतालमा कोरोना संक्रमितको लागि १ सय २० आइसोलेसन बेड रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा भने आइसोलेसन बेड संख्या ७० मात्र रहेको छ । जुम्लासहित छिमेकी जिल्लाका संक्रमितलाई पनि उपचार गर्ने गरी तयारी भइरहेको रजिष्ट्रार काफ्लेले बताए ।