शुक्रबार, बैशाख २१, २०८१

बुवाको स्मृतिमा पत्रकार शाहीद्वारा १ लाख सहयोग

  
कर्णाली टाइम्स शुक्रबार, साउन २३, २०७७

सुर्खेत । सुर्खेतका पत्रकार रमेश शाहीले आफ्ना बुवा दलबहादुर शाहीको स्मृतिमा मृगौलापीडित व्यक्ति र साझा घरलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

तीनजना मृगौला पीडितलाई ३०–३० हजार रुपैयाँका दरले र वीरेन्द्रनगर–९ स्थित साझा घर नेपाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन् । गुर्भाकोट नगरपालिका– ५ का युवराज गाहा, वीरेन्द्रनगर–२ का राम बहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्तलाई सहयोग गरेका हुन् । आर्थिक अभावकाे कारण गाहाले डायलाइसिससमेत गर्न सकेका थिएनन् । उनले वीरेन्द्रनगर जाने आउने भाडा नहुँदा बिहीबार हुने डायलासिससमेत नगरेकाे बताए । शाहीले आर्थिक सहयाेग गर्ने भएपछि उनी शुक्रबार वीरेन्द्ननगर आएका थिए । पत्रकार शाही र उनकी आमा सरस्वती शाहीले शुक्रबार पीडितहरुलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् । कर्णाली टाइम्स डटकमका प्रधानसम्पादकसमेत रहेका शाहीले हरेक वर्ष बुवाको स्मृतिमा यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा साझा घर नेपालका सेवक तपेन्द्र विकले शाहीबाट प्राप्त सहयोग अमूल्य रहेको बताए । यसले साझा घरको घरभाडा र खाद्यान्नको अभाव पूर्ति गर्न सहज भएको उनको भनाइ छ । शाहीको बुवा दलबहादुर शाहीको २०७६ साउन २० गते ७३ वर्षको उमेरमा निधन भएको थियो ।

स्वर्गीय दलबहादुर शाही

पत्रकार शाहीले आफ्नाे सानाे सहयाेगबाट बिरामीकाे उपचारमा केही सुधार हुने अपेक्षा गरे । उनले बुवाकाे समाजसेवाबाट प्रेरित भएर एक महिनाकाे घरभाडाकाे रकम सहयाेगस्वरुप प्रदान गरिएकाे जानकारी दिए ।