शुक्रबार, बैशाख २१, २०८१

सुर्खेत प्रहरीद्वारा सुनजस्तै देखिने गहना बरामद

  
जगतदल जनाला विक बिहीबार, साउन २९, २०७७
प्रतिकात्मक तस्बिर ।

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुन जस्तै देखिने गहना बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट बुधबार राति गएको प्रहरीको टोलीले वीरेन्द्रनगर–३ का मान बहादुर सुनारको घरबाट गहना बरामद गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले सुनजस्तै पहेँलो देखिने गहना भेटिएको बताए । प्रवक्ता घर्तीले बरामद गरेको उक्त गहनाहरु परीक्षण हुन बाँकी रहेको बताए ।

‘बुधबार राती वीरेन्द्रनगर–३ का एक जना स्थानीयको घरमा लुकाई छिपाई गरेर राखेको सुनजस्तै देखिने पहेँलो गहनाहरु बरामद गरेका हौं,’ प्रवक्ता घर्तीले भने, ‘तीन जनालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेका छौं । बरामद गरिएका गहनाहरु लाहाछाप लगाएर जनप्रतिनिधिको रोहवरमा सुरक्षित राखेका छौं । खास के हो भनेर पुष्टि गर्नका लागि परीक्षण गर्न बाँकी छ ।’

प्रहरीले १६ वटा चुरा, ४ श्रीफुल, ५ वटा कानमा लगाउने झुम्का, ३ वटा क्लिप काँटा, १ काँटा र १ वटा हिरा जस्तो टल्किने पत्थर बरामद गरेको हो ।

प्रवक्ता घर्तीका अनुसार घटनामा संलग्न पक्राउ परेका ३ जनाले बाहिरबाट आएका व्यक्तिले आफुहरुलाई राख्न दिएको र उनीहरुको नाम ठेगाना थाहा नभएकोले देखेपछि मात्र चिन्न सकिने बयान दिएका छन् ।

गहना राखेका मानिसहरु माथि थप अनुसन्धान भइरहेकोले घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रवक्ता घर्तीले जानकारी दिए ।