शनिबार, बैशाख १५, २०८१

बाढीले लुटेको धर्मको खुसी ! (भिडियो कथा)

  
जगतदल जनाला विक शनिबार, भदौ ६, २०७७
पञ्चपुरी नगरपालिका–१० गल्फाका धर्म टमट्टा ।

सुर्खेत। पञ्चपुरी नगरपालिका–१० गल्फाका धर्म टमट्टा २१ वर्षका भए । सानैदेखि उनको सपना थियो समाजसेवा गर्ने । १५ वर्षको उमेरमा कक्षा आठ पढ्दा पढ्दै उनको सपनामा पुर्णबिराम लाग्यो । कारण थियो २०७१ साल साउन २९ गते राति आएको बाढी ।

साउनको २९ गते धर्मको घरमा सबै परिवार बसेर सँगथै सामुहिक खाना खाने योजना भयो । धर्म र उनका अंकलसहित घरमा १२ जनाको जहान सँगै बसेर खाना खाए । २–४ जना ओल्लो पल्लो घरका मान्छे पनि उनको घरमा आएका थिए । उनका बुवा भारतमा मजदुरीका लागि गएका थिए ।

सबै जनाले खाना खाएर १२ बजेसम्म दुःख सुखका कुराकानी गर्दै बसे । सवा १२ बजे सबै आ–आफ्नो कोठामा सुत्न गए ।
एक्कासी करिब साढे १२ बजेतिर चिच्याएको आवाज आयो । उठेर हेर्दा वरिपरी पानीले घर घेरिसकेको थियो । यताउता जाने ठाउँ थिएन । काठ र माटोले बनाएका गाउँका घरभरी पानी पस्यो । घरलाई हल्लाउन थाल्यो । सबै जना माथिल्लो थारोमा (तला) जम्मा भयौं । सबै एकैठाउँ जम्मा भएको ५ मिनेटमैं बाढीले घरलाई भताङ भुतुङ बनाएर लियो । घर भत्किएपछि केहि मान्छे त्यहिभित्त चेपिए । बाढीको बहाव बढ्दै थियौ सबै बगायो । धर्मलाई घरदेखि केहि मिटर तलसम्म जाँदा त याद थियो । उनकी आमालाई पनि बगिरहेको देखेका थिए । तर उनले केहि गर्न सक्ने अवस्था थिएन ।

केहि समय त नदि बाहिर निस्कन उनले निकै मेहनत गरे । तर बाढीको अत्याधिक बहावका कारण आएका रुख र ढुंगाले उनलाई नराम्ररी थिचारेपछि बेहोस हुन पुगे ।
उनीसँगै बगेका उनकी आमा, उनका २ भाई, अंकल, १ अण्टी, अंकलका २ छोरा, २ बुहारी र २ भतिजलाई भने सदाका लागि उनले गुमाए ।
त्यो सबै परिवारसँग बाढीमा बगेका धर्म २ किलोमिटर टाढा तारमा अड्किएको देखेपछि बिहान स्थानीयको सहयोगमा हेलिकप्टर मार्फत मार्फत उद्दार गरी तत्कालिन क्षेत्रिय अस्पताल कालागाउँमा उपचारका लागि भर्ना गरियो ।

बगेका ११ जना मध्ये कसैको पनि शव भेटिएन । अस्पताल भर्ना भएको एक महिनापछि बल्ल उनलाई सञ्चो भयो ।
उनी भन्छन् त्यो बेला सम्झँदा अझै पनि आङमा काँडा फुर्नेे गर्छन् । अहिले धर्मको घर जग्गाको नाम निसाना भटाउन सकिदैन सबै बगर बनेको छ ।
बुवा पनि भारततिरै बसेको लामो समय भएको । २ जना दिदी बिवाह गरेर पराई घर गएका छन् । आफुलाई साथ र सहयोग गर्ने सबै परिवारलाई गुमाएपछि बेसाहारा भएका उनी वीरेन्द्रनगरमा दिदीको घरमा बसेर ज्याला मजदुरी गर्दै आएका छन् ।
उनले आफुलाई त्यति ठुलो पीर पर्दा समेत सरकारले पुर्नस्थापना गर्न नसकेको गुनासो गरे ।

‘मेरो घरका ११ जनाको ज्यान गएको छ । घर जग्गा सबै बगर भएको छ । अझ घर बनाउनका लागि सरकारले लालपुर्जा खोज्छ,’ धर्मले भने ‘सरकारले दिएको क्रिया खर्च र विभिन्न संघ संस्थाले दिएको खाद्यान्न बाहेक अरु केहि पाउन सकेका छैनौं ।’
पछिल्लो चरणमा घर बनाउनका लागि सरकारले ५० हजार दिने निर्णय गर्यो । तर त्यो रकम पाउनका लागि जग्गगाको लालपर्जा देखाउन नसक्दा पाउन नसकेको उनको भनाई छ ।

‘५० हजार घर बनाउनका लागि सरकारले दिने भन्यो तर त्यो पैसा लिनका लागि लालपुर्जा देखाउनुपर्ने रहेछ । घरजग्गा र ११ जना परिवार गुमाए सबै बाढीले बगाएको मैले कहाँबाट लालपर्जा देखाउने,’ धर्मले भने, ‘पछिल्लो समय आंशिकका लागि भनेर डेढ लाख आयो, तपाईँहरुलाई पछि मिल्छ भन्दै टारे ।’
आफुले सरकारबाट सेवासुविधा पाउन नसक्नुको एक मात्र कारण पुर्जा भएको बताए ।

पुर्नस्थापनाको टुङ्गो छैन

बाढीबाट विस्थापित भएको ६ वर्ष वितिसक्दा पनि पुर्नस्थापनाको टुङ्गो नलागेको पञ्चपुरी–१० तातापानीकै चन्द्रप्रकाश विक ले बताए ।
‘हामी विस्थापित भएको ६ वर्ष बितिसक्यो सरकारले आलटाल गरी पन्छ्याइरहेको छ,’ उनले भने, ‘वास्तविक पीडितले राज्यबाट अझैपनि राहत पाउन सकेका छैनन् । उनीहरुलाई सौतेनी व्यवहार गरिएको छ ।’
उनीहरु मात्र होइन् सुर्खेतका ४७४ परिवार अझ पुर्नस्थापनाको प्रखाईमा छन् ।
कुल विस्थापित एकहजार ४५ मध्ये ४७४ परिवारको पुर्नस्थापनाका लागि जग्गा र जग्गाको लालपुर्जा बाधक बनेको छ ।

भिडियो