शनिबार, कार्तिक १०, २०८१

पहिला घर खोज्दै भाडावाला आउँथे, अहिले भाडावाला खोज्दै घरधनी !

  
जगतदल जनाला विक शनिबार, असोज ३, २०७७

सुर्खेत । अरु बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अस्थायी बसोबास गर्न आउने नागरिकलाई कोठाभाडा पाउन मस्किल प¥थ्यो । पाएपनि कोठाको भाडा सुन्दा अचम्म लाग्थ्यो । वर्षैपिच्छे बढ्ने भाडा । कोरोना भाइरस संक्रमणपछि परिस्थिति फरक पर्न थालेको छ । कोभिड–१९ का कारण प्रदेश राजधानीबाट विद्यार्थी, मजदुर, व्यवसायी र अस्थाईरुपमा बस्दै आएका मानिसहरू आ–आफ्नो गाउँ गएसँगै सुर्र्खेत वीरेन्द्रनगरका घरहरू एकपछि अर्को गर्दै खाली हुन थालेका छन् ।

घरधनीहरूले पनि ‘घर खाली छ’ भन्ने सूचना टाँस्दै भाडामा बस्ने मानिस खोजी गर्न थालेका छन् । सडकपेटी, बिजुलीका पोल र घरका भित्तामा ठूला अक्षरले ‘कोठा खाली छ,’ ‘टु–लेट’ लेखिएको भेटिन्छ ।

विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन), निषेधाज्ञाका कारण नागरिकहरु आफ्नो गाउँ फर्किएपछि घरधनीहरुलाई समस्या परेको छ ।

वीरेन्द्रनगर–४ की कान्ति रोकायाको तीन तले घर अहिले खाली भएको छ । माथिल्लो तलामा उनका परिवार बस्छन् । दुई तला भाडामा दिएका थिए ।

उनका लागि परिवारको जिविकोपार्जनमा घरभाडा आम्दानीको मुख्य स्रोत थियो । घर खाली भएको पाँच महिना भयो, कोही नयाँ मान्छे आएको छैन ।

पहिला कोठा भाडामा चाहियो भनेर भाडावाला आउने गरेपनि कोरोनाका कारण सबै मानिसहरु घर फर्किएपछि अहिले कसैलाई कोठा चाहिएको छ की भनेर मान्छे खोज्दा पनि नभेटिएको उनले बताइन् ।

यसरी कोठा खाली हुँदा घरभाडा उठाएर जीविकोपार्जन गर्ने घरवालाहरू समस्यामा परेको कान्तिको भनाइ छ ।

‘बत्ती र पानीसहित एउटा काठाको भाडा ३५ सय रुपैयाँ लिन्थें, ९ वटा कोठाबाट मासिक ३२ हजार बुझथें, त्यसबाट नै सबै खर्च चल्थ्यो,’ उनले भनिन् ‘पाँच महिना भयो, भाडामा बस्न कोही आएका छैनन्, पहिला कोठा खोज्दै मान्छे आउँथे भने आजभोली कोठा खाली छ भन्दा पनि कोठी मान्छे पाइँदैनन् ।’

राजधानी वीरेन्द्रनगरमा उच्च शिक्षा, रोजगारी, बालबालिकाको राम्रो शिक्षा र अन्य विभिन्न अवसरका लागि प्रदेशका अन्य जिल्लाबाट मानिसहरू भित्रिन्छन् । सेवा र सुविधाका हिसाबले पनि मानिसहरूको रोजाइ राजधानी नै हुन थालेपछि वीरेन्द्रनगरमा डेरामा बस्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो थियो ।

भाडा घटाएर दिन खोजे पनि अझै निकै लामो समय कोठाहरू खाली नै रहने उनको भनाइ छ ।
बसोबासका लागि घरभाडासम्बन्धी कुनै नियम छैन । धरधनीले निर्धारण गरेको भाडा नै अन्तिम हुन्छ । हेरक वर्ष भाडा बढाउने र एउटाले छोडेर नयाँ आउँदा पनि बढाउने चलनले वीरेन्द्रनगरमा घरभाडा बढेको बढ्यै हुने गरेकोमा कोरोनाको कहरपछि डेरावालाको समस्या घरवालातिर सर्न थालेको छ ।

यस्तै कोरोना कहरपछि भाडामा बस्ने फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, संघ संस्था तथा वित्तीय क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई घरभेटीले भेदभाव गरी कोठा सार्न दबाव दिइरहेका घटनाहरु प्नि सार्वजनिक हुने गरेका छन् ।

भैरवी गाउँपालिका वडा – ५ का स्वास्थ्यकर्मी विकास प्रसाद न्यौपाने प्रदेश अस्पताल कालागाउँमा इमरजेन्सी विभागमा कार्यरत रहेका छन् । उनी स्वास्थ्यकर्मी भएकै कारण भाडामा लिएको कोठा छोडेर अर्को ठाउँमा भाडा लिएर बसेका छन् ।

उनले स्वास्थ्यकर्मी भन्न बित्तिकै यो सँग त कोरोना छ की भन्ने जस्ता संकाले हेर्ने गरेको बताए ।

दिनरात नभनी बिरामीको उपचारमैं संलग्न हुँदा जेठको ३१ गते कोरोना पोजेटिभ देखिएपछि घरभेटीले कोठा सार्न दबाव दिएको र अर्को कोठा पाउन निकै समस्या रहेको उनले बताए ।

उनी त उदाहरणीय पात्र मात्र हुन, अन्य कैयौं फ्रन्टलाइनमा खटेर काम गर्नेलाई घरमालिकले भेदभाव गर्ने गरेका छन् ।