बुधबार, बैशाख १९, २०८१

काममा फर्किन थाले मजदुर

  
कर्णाली टाइम्स बुधबार, असोज ७, २०७७

सुर्खेत । विश्वभर महामारीकारुपमा  फैलिएको कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनमा दैनिक ज्यालादारी गरेर खानेहरु पुनः काममा फर्किन थालेका छन् । सरकारले लकडाउनमा राहतसमेत अपुग दिएको र काम नपाउँदा समस्या भएको वीरेन्द्रनगर–६ का बुदे विक बताउँछन् । अहिले सबै मजदुर काममा नफर्के पनि प्रायः जसो मजदुर कामका लागि धाउन थालेका छन् ।

कोरोना भाइरसको त्रासले ठप्प बनेको बजार खुलेका छन् । रोकिएका निर्माण कार्य पनि सुरु भएका छन् । जसले मजदुर गरेर परिवार पाल्न सहज बन्दै गएको छ । लकडाउन र निषेधाज्ञाले दैनिक मजदुरी गरेर खाने वर्ग समस्यामा पर्दै आएको थियो । कोरोना भाइरसको न्यूनीकरण नभए पनि सरकारले लकडाउन र निषेधाज्ञा हटाएकाले अहिले बजारमा चहलपहलसमेत बढेको छ ।

फलफुल बेचेर गुजरा चलाउँदै आएकी वीरेन्द्रनगर–१२ की नैनसरा जैसी करिब ६ महिनापछि पुनः पहिलेकै व्यवसायमा फर्किएकी छिन् । दैनिक फलफुल, बेलौती (अम्बा, लताम) बिक्री गर्छिन् । लकडाउनसँगै निषेधाज्ञा हटेपछि उनी काममा त फर्किइन् तर पहिले जस्तो आम्दानी छैन । जेनतेन परिवार चलाउन लकडाउन र निषेधाज्ञाको जस्तो समस्या पनि हटेको छ । बलौती बिक्रीबाट दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताइन् । ‘पहिलेजस्तो बिक्री हुँदैन,’ उनले भनिन्, ‘तर घर खर्च चलाउन सहज भएको छ ।’