शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका खड्का नियुक्त

  
कर्णाली टाइम्स शुक्रबार, मंसिर १२, २०७७


सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्कालाई नियुक्त गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको वैठकले खड्कालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि कर्णाली प्रदेश योजना आयोगको पहिलो उपाध्यक्षका रुपमा रहेका डा. पूण्य रेेेेेग्मीको ठाउँमा उनलाई नियुक्त गरिएको हो । रेेेेेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति भएर गएपछि सरकारले दैलेखका खड्कालाई नियुक्त गरेको हो ।
कृषि विज्ञका रुपमा चिनिने खड्का यसअघि सरकारका कृषि तथा अन्य विषयका नीति तथा कार्यक्रम निर्माण गर्न उनले भूमिका खेलेका छन् ।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको समन्वय विज्ञ नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको वैठकले मुख्यमन्त्री शाहीको समन्व्य विज्ञका रुपमा वीरेन्द्रनगर–९ का झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको हो । मल्ल नेकपाकाे केन्द्रीय सदस्य हुन् ।
यस्तै मन्त्रिपरिषदले सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धी नेपाल सरकारसँग स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ ।
वैठकले समपुरक र विशेष अनुदानबाट स्थानीय तहहरुमा सञ्चालित अधुरा आयोजनाअरुको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले २२ करोड ५७ लाख ८५ हजार रुपैयाँ स्थानीय तहहरुमा हस्तान्तरण गर्ने निर्णय पनि गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन् ।
कर्णाली प्रदेश सुरक्षा मापदण्ड–२०७७, कर्णाली प्रदेशको सुरक्षा रणनीति–२०७७, कर्णाली प्रदेश पर्यटन गुरुयोजनालाई स्वीकृति प्रदान गर्ने, शान्ति अध्ययन तथा घाईते अपांग पुनस्र्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद वैठकले गरेको छ ।