शनिबार, कार्तिक १०, २०८१

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट : प्रस्ताव गरिएका सबै एजेण्डा पारित

  
कर्णाली टाइम्स बुधबार, पुस १, २०७७


सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १० औं सिनेट काठमाडौंमा सम्पन्न भएको छ । मंगलवार दिउँसो बसेको सिनेटले कार्यकारी परिषद्ले पेश गरेका सबै प्रस्ताव पारित गरेको छ ।
सिनेटमा पेश गरिएका ७ वटै  प्ररस्ताव सर्वसम्मत पारित भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले जानकारी दिए । ‘हामीले प्रस्ताव गरेका सबै प्रस्तावहरु पारित भएका छन्, अहिलेको सिनेटमा पारित भएको धेरैजसो विषयहरु उपलब्धीमुलक पनि छन् ।’ उनले भने ।
सिनेटमा गत आर्थिक बर्षको वार्षिक आयव्यय विवरण र यो बर्षको अनुमानित आयव्यय विवरण पेश गरिएको छ । आर्थिक बर्ष ०७७/७८ को लागि डेढ करोड बढीको अनुमानित आयव्यय विवरण पेश गरिएको छ । जसमा ८० करोड ९५ लाख रुपैयाँ आम्दानीतर्फ पेश गरिएको छ भने खर्चतर्फ ८० करोड ५० लाख रुपैयाँ प्रस्तुत गरिएको छ ।
यस्तै विश्वविद्यालयले पेश गरेको विभिन्न नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि पारित भएका छन् । जसअनुसार संगठन तथा संरचनाबारे केही नियमावली संशोधन भएको उपकुलपति सिंहले जानकारी दिए ।
यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बनाउन खोजेको आफ्नै सुरक्षा इकाई निमार्णका लागि पनि बाटो खुलेको छ । प्रस्ताव पारित भएसँगै विश्वविद्यालयले अब आफ्नै पोशाकसहितको सुरक्षा इकाई निर्माण गर्ने सिंहले बताए ।
‘हाम्रो भौतिक सुरक्षाका लागि बनाउन खोजिएको आफ्नै एकाईसम्बन्धी सिनेटबाट प्रस्ताव पारित भएको छ,’ उनले भने, ‘यो एक खालको उपलब्धी हो, अन्य मुलुकका कतिपय विश्वविद्यालयहरुले यस्तो इकाई निर्माण गरेका छन् । अब हामीले पनि गर्छौं ।’ उनका अनुसार सुरक्षा इकाई आफ्नै बनाउने मध्यपश्चिमाञ्चल विश्वविद्यालय पहिलो हो ।
यस्तै विश्वविद्यालयले थप १३१ जनाको दरबन्दी सिर्जना गर्नेगरी गरेको प्रस्ताव पनि सिनेटबाट पारित भएको छ । जस अनुसार अब मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न निकायमा थप दरबन्दी खुला प्रतिस्पर्धाबाट पूरा गरिने उपकुलपति सिंहले बताए ।
यसैगरी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न आंगिक क्याम्पसहरुको नाम हेरफेरसम्बन्धी पनि प्रस्ताव गरिएको थियो । पारित उक्त प्रस्ताव अनुसार अब सबै आंगिक क्याम्पसहरु बहुमुखी क्याम्पसका रुपमा रहने सिंहले जानकारी दिए ।