शुक्रबार, बैशाख १४, २०८१

उद्योग वाणिज्य संघ कर्णालीको अध्यक्षमा शाही निर्विरोध

  
कर्णाली टाइम्स बिहीबार, पुस ९, २०७७

सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । शनिबार हुने निर्वाचनको लागि उनको मात्र उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म उनको मात्र उम्मेदवारी परेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका शाही प्रदेश समितिका हालका अध्यक्षसमेत हुन् । शाहीसँगै एसोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एसोसियट तर्फको सदस्यमा सीताराम कार्की र झबिन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेकाहरुको निर्वाचित भएको औपचारिक घोषणा भने शनिबारमात्र हुनेछ ।

जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । जिल्ला–नगरको ५ सदस्यको लागि नाङ्गेल लामा (हुम्ला), नबिन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञावली (सुर्खेत), कर्ण खत्री (जाजरकोट), पहल खड्का (रुकुम पश्चिम) र कष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको छ ।

जिल्ला–नगर तर्फको उपाध्यक्ष र सदस्यको लागि शनिबार निर्वाचन हुने छ । निर्वाचन अधिकृत विवश बस्तेका अनुसार निर्वाचनमा एसोसियटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता रहेका छन् ।