शनिबार, बैशाख २२, २०८१

घाईतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो, एक जनाको अवस्था अज्ञात

  
कर्णाली टाइम्स बिहीबार, पुस २३, २०७७


सुर्खेत । सुर्खेतको गुर्भाकोटमा बिहिवार दिउँसो भएको बस दुर्घटनामा परि घाईते भएका एकजनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाईते ईश्वर सुनारलाई मेहलकुना अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको हो ।
उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
उक्त बसमा सवार तीन जनामध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–३ का सुमन नेपाली रहेका छन् । बिहिवार नै मेहलकुना अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको साथमा रहेको नागरिकताका आधारमा पहिचान खुलेको घर्तीले बताए ।
यस्तै एकजनाको अवस्था अज्ञात रहेको डिएसपी घर्तीले बताए । उनी बीचबाटोमा झरेको वा घटनामै परेको भन्ने एकीन नभएको उनले बताए ।
बिहिवार सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सडकबाट भेरी नदीमा बस खसेको हो । बिहिवार दिउँसो २ बजेर ५० मिनेटमा गुर्भाकोट–९ भुल्के भन्ने ठाउँबाट बस नदीमा खसेको हो । चन्द्रसूर्य यातायात प्रालि दाङमार्फत सञ्चालित ना ५ ख ७७५० नम्बरको उक्त मिनीबस नदीमा खसेको हो ।
उक्त बस रिजर्भमा मानिस लिन सल्यानको कालीमाटीबाट सल्लीबजारतर्फ गईरहेको घर्तीले बताए । उनका अनुसार बस सडकबाट करिब ७०० मिटर तल नदीमा बस खसेको छ ।