शुक्रबार, बैशाख २१, २०८१

कर्णालीमा सञ्चालित सञ्चारमाध्यमलाई एक लाख रुपैयाँ अनुदान दिईने

  
कर्णाली टाइम्स मंगलबार, माघ २७, २०७७


सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका जिल्लाहरुमा सञ्चालित एफएम रेडियो, पत्रपत्रिका र केबुल च्यानल नेटवर्कलाई अनुदान दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एफएम रेडियो, पत्रपत्रिका र केबुल च्यानललाई अनुदान दिने भएको हो ।
नेपाल पत्रकार महासंघ सुर्खेतको २५ औं साधारणसभालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका आन्तरिक तथा कानुनमन्त्री नरेश भण्डारीले चालित एफएम रेडियो र केबुल च्यानल नेटवर्कलाई अनुदान दिने बताए ।
‘मन्त्रालयले चालित एफएम रेडियो, पत्रपत्रिका र केबुल च्यानल नेटवर्कलाई एक÷एक लाखका दरले अनुदान दिने निर्णय भएको छ,’ उनले भने, ‘त्यसका लागि मन्त्रालयले तोकेको निश्चित मापदण्ड पुरा गर्नुपर्छ । पत्रपत्रिकालाई पनि दिने निर्णय भएको छ । तर, त्यसका बिषयमा थप छलफल भइरहेको छ ।’
पहिलो चरणमा सबै चालित एफएम रेडियो र केबुल च्यानल नेटवर्कहरुले ५०÷५० हजार पाउने र त्यसको कार्यसम्पादन मुल्याङ्कन प्रतिवेदनका आधार थप ५० हजार रुपैयाँ अन्तिम किस्तामा दिइने मन्त्री भण्डारीले जानकारी दिए ।
९ जना पत्रकार पुरस्कृत


सुर्खेत शाखाको २५ साधारणसभाले बिभिन्न पुरुस्कारबाट ९ जना पत्रकारलाई नगद पुरुस्कारसहित सम्मान गरेको छ ।
यार्सान्युज अनलाईनका देविराम देवकोटा, अन्नपूर्ण पोष्ट दैनिकका ललित बुढा, रेडियो नेपालका डम्बर आचार्य, रेडियो भेरीका मधुवन बिसी, सुनगाभा टेलिभिजनका खिम बुढा, इमेज टेलिभिजनका मानबहादुर वली, भानुभक्त खड्का, कान्तिपुर दैनिकका चाँदनी कठायत र गिता थापालाई नगद पुरुस्कारसहित प्रमाणपत्र दिएर सम्मानित गरेको हो ।