मंगलबार, बैशाख १८, २०८१

आन्दोलनरत बादी समुदायमाथि लाठी प्रहार

  
कर्णाली टाइम्स आइतवार, फागुन १६, २०७७

फाईल तस्विर

सुर्खेत । गाँस–बासको माग गर्दै धर्नामा बसेका बादी समुदायलाई प्रहरीले लाठी प्रहार गरेको छ । आईतबार दिउँसो १ बजे प्रहरीले उनीहरुमाथि लाठी प्रहार गरेको हो ।
शनिबारसम्म शान्तिपूर्ण रुपमा धर्नामा बसेका बादी समुदायले आइतबार नाराजुलुससहित आन्दोलन गरेका थिए । नाराजुलुस गर्दै अगाढि बढ्ने क्रममा आफूहरुमाथी प्रहरीले लाठी प्रहार गरेको आन्दोलनका अगुवा हिक्मत बादीले बताए ।
‘आज हाम्रो नाराजुलुस गर्ने कार्यक्रम थियो, नारा लगाउँदै मुख्यमन्त्री कार्यालयको गेटनजिक पुगेका बेला हामीमाथि लाठी प्रहार भएको हो,’ उनले भने, ‘लाठी लागेर केही मानिस घाईते हुनुभएको छ, अब पनि हामी कडा रुपमा आन्दोलन गर्ने मनस्थितिमा छौं ।
प्रहरीको लाठी प्रहारबाट हिक्मत बादी, जानकी वादी, गगन बादी, करण बादी र मानकुमारी बादी सामान्य घाईते भएका छन् ।
घरसहितको खेतीयोग्य जमिन माग गर्दै सात दिनदेखि दैलेख, कालिकोट र सुर्खेतका ४०० बढी बादी समुदायका मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । उनीहरुले सरकारले आफूहरुलाई जग्गा उपलब्ध नगराए धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।