शुक्रबार, बैशाख २१, २०८१

रुसले नेपाललाई ८० लाख डोज खोप बेच्ने

  
कर्णाली टाइम्स बिहीबार, बैशाख १६, २०७८


रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो । दुई पक्षबीच मूल्यको विषयमा भने सहमति भइसकेको छैन ।
रुसबाट सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल अघि बढाएको थियो । छलफलका क्रममा मन्त्री त्रिपाठीले ४० लाख डोज खोप तत्काल आवश्यक पर्ने जानकारी गराएका थिए ।
रुससँग सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा समेत दिन आग्रह गरिएको छ । ‘रुसी खोप ल्याउने करिब–करिब तय भइसकेको छ । दुई–चार दिनमा यो विषयमा टुंगो लाग्छ,’ मन्त्री त्रिपाठीले भने । उनले अनुदानका लागि चिठी लेखिसकेको बताए । नेपालस्थित रुसी दूतावासका एक प्रतिनिधिले नेपालको चाहनाअनुसार रुसले पर्याप्त खोप निर्यात गर्न सक्ने बताए ।
औषधि व्यवस्था विभागले वैशाख ७ गते आपत्कालीन प्रयोगका लागि रुसी खोपलाई स्वीकृति दिइसकेको छ । उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाएको छ । तर सरकारले भने जीटूजी प्रक्रियाबाटै खोप ल्याउने तयारी गरेको हो ।