आइतवार, भदौ २३, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

  
कर्णाली टाइम्स आइतवार, बैशाख १९, २०७८


सुर्खेत । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ।
प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।
संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएको स्रोतले बतायो।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ।
दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।
२०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन्। सेतोपाटी