मंगलबार, बैशाख १८, २०८१

चकमन्न वीरेन्द्रनगरलाई ढकमक्क बनाउने गुलमोहर (तस्वीर)

  
कर्णाली टाइम्स सोमवार, बैशाख २७, २०७८

सुर्खेत । वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा छ। ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरी निषेधाज्ञा उल्लंघन हुन नदिने प्रयास पनि जारी छ। निकै चहलपल हुने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यो बेला सुनसान छ।

मानिसको चहलपहल निषेधाज्ञाले रोकेका बेला फूल फूलेर ढकमक्क बनेको छ वीरेन्द्रनगर। विगतका बर्षहरु जस्तै यो बर्ष पनि ढकमक्क ‘गुलमोहर’का रुखमा फूल फूलेका छन् । सुन्दर वीरेन्द्रनगर झन् सुन्दर बनेको छ। स्थानीय धेरैको फेसबुक र टिकटकमा सुर्खेतमा फूलेका गुलमोहर फूलको तस्वीर देख्न पनि पाइन्छ।

वीरेन्द्रनगरका केही ठाउँहरुमा गुलमोहरका रुखहरु छन्। फूल्ने समयमा ती ठाउँहरुमा मानिसको चहलपहल निकै हुन्थ्यो । कोरोना महामारीपछि गत वर्ष र यो बर्ष भने ती ठाउँहरुमा त्यति चहलपहल छैन।

अत्यावश्यक काममा निस्किएको बेला होस् वा त्यसैको वहानामा निस्किएर भएपनि यसपटक यो फूल फूलेको ठाउँमा सर्वसाधारण पुगेकै छन् । आफैले सामाजिक दुरी कायम गरेको जस्तो गरेर तस्विरहरु पनि खिचेकै छन्।

हरेक वसन्त ऋतुमा वीरेन्द्रनगरको सौन्दर्यता थप्ने ‘गुलमोहर’ले यो वर्षको चकमन्न उपत्यकालाई ढकमक्क बनाएको छ। मानिसको खासै चहलपहल नभएपनि गुलमोहर आफैंले उपत्यकालाई गुलजार बनाइदिएको छ।

२०३५ देखि ०३८ सालको बीचमा वीरेन्द्रनगरमा रोपिएका यी गुलमोहरका रुख फूल्न थालेको भने झण्डै २ दशक यतादेखि हो।

तत्कालीन समयमा वीरेन्द्रनगरको गुरुयोजना अनुसार शहरको सुन्दरता बढाउन यो गुलमोहरका बिरुवा लगाउने योजना बनेको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए।

‘गुरुयोजना अनुसार सडकको मापदण्ड पनि बनिसकेको थियो, योजनाभित्र परेका सडक वरपर हरियाली बनाउन र शहरको शोभा बढाउन यो फूल लगाइएको होला,’ मेयर सुवेदीले भने ।

२०२९ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएका थिए। विज्ञ माधवभक्त माथेमाको नेतृत्वमा बनेको एक टोलीले वीरेन्द्रनगर उपत्यकाको गुरुयोजना बनाएको थियो।

चौहानचौर नामले चिनिने यो उपत्यका तत्कालीन राजा वीरेन्द्रको भ्रमणसँगै २०२९ सालपछि वीरेन्द्रनगर नामाकरण भएको हो।

वीरेन्द्रनगर उपत्यकामा अहिले फूलिरहेका गुलमोहरका विरुवा तत्कालीन समयमा भारतबाट ल्याइएको थियो। ‘उपत्यकाको गुरुयोजना बनिसकेपछि सडकको नक्साङ्कन भयो, सडक वरपर हरियाली बनाउने योजना अनुसार भारतबाट ल्याएर गुलमोहरका विरुवाहरु रोपिएको हो,’ वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले भनिन्।

पहिलेदेखि नै वीरेन्द्रनगर गुलमोहर फूलले रमणीय देखिएपनि खासै वास्ता नहुने गरेको उनले बताइन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो पहुँच र त्यस अनुसारको प्रचारप्रसारले यहाँ फूलेका गुलमोहरले महत्व पाउन थालेको उनी बताउँछिन्।

वीरेन्द्रनगर उपत्यकालाई गुलजार बनाउने ‘गुलमोहर’को अस्तित्व मेटिन नदिने योजनामा नगगरपालिका आफैं पनि लागेको छ । अहिले उपत्यकाका सडक छेउमा गरिएको वृक्षारोपणअन्तर्गत गुलमोहरका बोटहरु रोपिएको छ।

‘सडक विस्तारको क्रममा पछि उपत्यकाभित्रका धेरै रुखहरु फाल्नुपर्ने हुन सक्छ, त्यसकारण हामीले अहिले नै यहाँ भएका जस्ता विरुवाहरु नयाँ रोपेका छौं,’ उपमेयर ढकालले भनिन्, ‘पछि पुराना रुखहरु फालिँदै जान्छन्, नयाँ रुखहरुले सडक वरपर शोभा बढाउँदै जान्छन् ।’

सेतोपाटीबाट साभार