सुर्खेत । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन्। उनले आज बेलुका ५ बजेसम्मको समय दिएकी छन्।
संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भनेर प्रधानमन्त्रीले जानकारी दिएकाले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेको उल्लेख गरेकी छन्।
राष्ट्रपतिले आज साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गरेकी हुन्।
वैशाख ३० गते प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतले सरकार बनाएका थिए। संविधानको धारा ७६ को उपधारा ३ मा संसदमा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते तीन दिनको समय राखेर वैकल्पिक सरकार बनाउन आग्रह गरेको समयमा सरकार नबनेपछि ओली पुनः प्रधानमन्त्री बनेका थिए।
ओलीले जेठ ३० गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने भए पनि उनले विश्वासको मत नलिने निर्णय गरेका हुन्।
बिहिबारको मन्त्रिपरिषद बैठकमा आफूले विश्वासको मत नलिने जानकारी गराएका थिए।
संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसकेमा उपधारा ५ अन्तर्गतको सरकार गठन हुने प्रावधान छ। प्रतिनिधि सभाको कुनै पनि सांसदले विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान यो उपधारामा छ।
यो प्रावधान अनुसार नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत लिन नसकेमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्नेछन् र ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ।