मंगलबार, असार १७, २०८२

राउटे युवतीमाथि यौनदुर्व्यवहार गर्ने तीनजना पुर्पक्षका लागि कारागार चलान

  
कर्णाली टाइम्स बुधबार, असार १६, २०७८


सुर्खेत। राउटे युवतीमाथि यौनदुर्व्यवहार गर्ने तीनजनालाई कारागार चलान गरिएको छ। जेठ २३ गते पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राखिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।
बुधवार दिउँसो उनीहरुलाई कारागार चलान गरिएको हो। न्यायाधिष दिलप्रसाद सापकोटाको ईजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चौमन बहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो।
मिलनले सञ्चालन गरिरहेको बोटेचौरस्थित शुभकामना होटल तथा रेष्टुरेन्टमा लिएर जेठ २१ गते राती ९ बजे उनीहरुमाथी यौनदुव्र्यवहार गरिएको हो।
उनीहरुले दुईजना राउटे युवतीहरुलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो।
फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए। अहिले उनीहरु त्यो ठाउँबाट सल्यान बसाइँ सरेका छन् । असार ७ गते उनीहरु सल्यानको कालिमाटी गाउँपालिकामा बसाइँ सरेका हुन्।
यो घटना हुँदा राउटेहरु गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए।