सुर्खेत। बजेटमाथिको सैद्धान्तिक छलफलमा केन्द्रित हुनेगरी सञ्चालन गर्न खोजिएको कर्णाली प्रदेश सभाको बिहिवारको वैठक पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गरेको छ। एमालेले उठाएको राजनीतिक मुद्दामा सरकारले बेवास्ता गरेको भन्दै वैठक अवरुद्ध गरिएको हो।
कार्यसूचिमा प्रवेश गर्नुअघि बोल्दै पूर्वमन्त्री एवम् एमालेका सांसद दल रावलले सरकार बजेट र आफ्ना मागहरुप्रति उत्तरदायी नभएको बताए। एमालेले प्रदेश सभामा नैतिक ढंगले राजनीतिक तथा संवैधानिक प्रश्न राखेको र यसमा सरकारले बेवास्ता गरेको बताए।
लोकतन्त्रलाई नै मार्गदर्शन बनाएको कांग्रेस पार्टी अलोकतान्त्रिक आचरण देखाउने कर्णाली प्रदेश सरकारमा रहेको टिप्पणी उनले गरे। सरकार चलाउन भन्दा पनि लोकतन्त्रलाई बलियो बनाउनतर्फ लाग्न उनले काँग्रेसलाई आग्रह गरे।
सरकारले जवाफ नदिएसम्म आफूहरुले बैठकको कारबाही अगाडि बढाउन नदिने अडान रावलले राखेपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। एमालेले अवरुद्ध गरेपछि वैठक असार २७ गते दिउँसो २ बजेसम्मका लागि वैठक स्थगित गरिएको छ।
असार १ गते कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७८/७९ को बजेट सदनमा प्रस्तुत गरेको छ। त्यसयता प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण बजेटमाथिकोसैद्धान्तिक छलफल हुन सकेको छैन। साउन १ गतेभित्र बजेट पारित गरिसक्नुपर्छ।
कर्णाली टाइम्स
बिहीबार, असार २४, २०७८