सोमवार, बैशाख १७, २०८१

कांग्रेस महामन्त्री खड्काद्वारा स्वास्थ्य सामाग्री प्रदान

  
कर्णाली टाइम्स शुक्रबार, असार २५, २०७८
महामन्त्री खड्काले पठाएका अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामाग्रीहरु चिंगाड गाउँपालिकालाई हस्तान्तरण गरिँदै ।

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले चिंगाड गाउँपालिका र मातहतका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तारण गरेका छन् । खड्काले चिंगाड गाउँपालिकाका साथै प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ र चार वटा स्वास्थ्य चौकीहरुलाई अक्सिजन सिलिण्डर, माक्स, स्यानिटाइजर, अक्सिजन फ्लोमिटर, पल्स अक्सिमिटर, अक्सिजन कन्सन्टे«टर लगायतका सामाग्रीहरु उपलब्ध गराएका हुन् ।
पार्टीको काममा भएको व्यस्तताले आफू नै भौतिक रुपमा उपस्थित हुन नसेकेका महामन्त्री खड्काले आफ्ना प्रतिनिधिमार्फत शुक्रबार अवलचिङमै पुगेर पालिका र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् ।
‘कोरोनाका कारण पालिका र स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामाग्री नहुँदा बिरामी, तिनका आफन्त र स्वास्थ्यकर्मीहरुले दुख भोग्नुपरेको अनुभव मैले गरेँ,’ पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने, ‘पार्टी कामको व्यस्तताले आफै उपस्थित हुन नसके पनि प्रतिनिधिमार्फत स्वास्थ्य सामाग्रीहरु पालिका र स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेको हुँ ।’
महामन्त्री खड्काले चिंगाड गाउँपालिकालाई पाँच हजार पिस माक्स, स्यानिटाइजर ५ हजार मिलिलिटर ४ जर्किन, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन फ्लोमिटर ३ थान र पल्स अक्सिमिटर २ थान हस्तान्तरण गरे ।
महामन्त्री खड्काको पहलमा नेपाल चिकित्सक संघले उपलब्ध गराएको १० लिटरको अक्सिजन कन्स्ट्रन्टेटर पनि कार्यक्रममा हस्तान्तरण गरिएको थियो । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङलाई एक हजार पाँच सय पिस माक्स, सेनिटाइजर ५ हजार एमएल दुई जर्किन, अक्सिजन फ्लोमिटर दुई थान हस्तान्तरण गरे ।
पालिकाका चारवटै स्वास्थ्य चौकीलाई १ हजार ५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देव बहादुर चन्दले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्रीहरु किन्न पनि नपाइराखेको बेला कांग्रेस महामन्त्रीबाट निःशुल्क पाउँदा ठूलो राहतको महशुस भएको बताए ।
‘कोरोना महामारीको बेला अक्सिजन खोज्दै शहरतिर भौतारियौं, तर कहीँ पाएनौं,’ उनले भने, ‘अहिले गाउँपालिकाको ढोकैमा कांग्रेस महामन्त्रीले पुर्याइदिनु भएको छ, संकटमा साथ दिनेलाई जनताले सधैं सम्झने छन् ।’
चिंगाड गाउँपालिकाका उपाध्यक्ष मनमाया आचार्यले संकटको बेला कांग्रेस महामन्त्रीबाट प्राप्त स्वास्थ्य सामाग्रीहरुले पालिकालाई राहत पुर्याएको बताइन् । उनले कोरोनाको दोस्रो लहरमा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु नहुँदा कोरोना संक्रमित पालिकाका नागरिकहरुले दुःख पाउनु परेको बताउँदै महामन्त्री खड्काबाट प्राप्त स्वास्थ्य सामाग्रीले पालिकाभित्रका नागरिकहरुको ज्यान बचाउन सहज हुने बताइन् ।
महामन्त्री खड्काका प्रतिनिधि एवम् लगानी पूर्वाधार, रोजगार दृष्टिकोण एवम् दीगो परियोजना केन्द्रीय विशेष समितिका सदस्य विष्णुबहादुर खड्काले सुर्खेतका नौवटै पालिका, प्रदेश अस्पताल, आयुर्वेद औषधालय, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य संस्थाहरुलाई ५० लाख बराबरको स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको बताए ।