सोमवार, बैशाख १७, २०८१

मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता शाहीले गरे नेपाल-चीन सीमा क्षेत्रको अनुगमन

सांसद शाही भन्छन्- नेपाल र चीन दुवैतिरबाट जमीनमा तलमाथी भएको छ

  
कर्णाली टाइम्स आइतवार, असार २७, २०७८
सीमा क्षेत्र अनुगमनका लागि हुम्ला गएको मुख्यमन्त्री शाहीको अनुगमन टोली

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको एक सरकारी टोलीले नेपाल र चीनबीचको सीमा क्षेत्रको अनुगमन गरेको छ। शुक्रबार हुम्ला पुगेको टोलीले शनिबार हुम्ला र चीनको तिब्बतबीचको सीमा क्षेत्र अनगुमन गरेको हो।
मुख्यमन्त्री शाही, कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवन शाही, पूर्वभूमि व्यवस्था तथा कृषिमन्त्री विमला केसी सहभागी टोलीले नेपाल-चीनको सीमा क्षेत्र लोलुङजोङको अनुगमन गरेको हो। चीनसँगको सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका-६, लाप्चा (लोलुङजोङ) क्षेत्रमा गत असोजमा चीनले केही भवन बनाएपछि सीमा मिचिएको भन्दै विवाद भएको थियो।
स्थलगत अनुगमपछि सांसद जीवन शाहीले नेपाल र चीन दुबैको तर्फबाट सीमामा तलमाथि भएको देखिएको बताए। ‘त्यहाँ कतै चिनियाँ भूमि हाम्रोतिर परेको देखिन्छ, कतै हाम्रो भूमि चीनतर्फ परेको देखिन्छ। त्यो गडबड भएको छ,’ उनले भने, ‘मेरो माग के हो भने प्रदेश सरकारले पनि यसको समस्या समाधानका लागि संघीय सरकारलाई सिफारिस गरोस्, संघले पनि यसमा ध्यान देओस्।’
सांसद शाहीले यसअघि विवादित बनेको सीमा क्षेत्रबारे अध्ययन गर्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए। अहिले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मात्र भएकाले उनलाई सीमा क्षेत्रको बारेमा जानकारी आफूले गराएको शाहीले बताए।
अनुगमनमा गएको प्रदेश सरकारको टोली आज सुर्खेत फर्किँदैछ ।